काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सबै राजनीतिक दलको सहमतिमा मन्त्रिपरिषद् विस्तार हुने बताएका छन । सहमतीय सरकार सञ्चालनको प्रयास गर्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको उनले बताए ।
झापाको विर्तामोडमा अन्तर्राष्ट्रिय झापाली समाजको चौथो महाधिवेशनमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा सहमतीय मन्त्रिपरिषद् विस्तार हुने स्पष्ट गरे । सबै राजनीतिक दललाई मिलाएर कोशी प्रदेशको समृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्रीले कोशी प्रदेश सरकार अब ढल्दैन भने । गत असोज २७ गते मुख्यमन्त्री पदमा नियुक्त हुनुभएको कार्कीले असोज २८ गते दुईजना मन्त्री नियुक्त गरेका थिए । त्यसपछि मन्त्रिपरिषद् विस्तार भएको छैन ।
त्यस्तै, मुख्यमन्त्री कार्कीले अन्तर्राष्ट्रिय झापाली समाजलाई कोशी प्रदेशको समृद्धिका लागि योजनासहित लगानी भित्र्याउन आह्वान गरेका छन । विदेशमा रहेका नेपालीको सीप, प्रविधि र लगानी भित्र्याउन प्रदेश सरकार आतुर रहेको धारणा व्यक्त गर्दै उनले लगानीमैत्री कानुन बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै, समाजको आज सम्पन्न चौथो महाधिवेशनले मुकुन्द ढुङ्गानाको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत गठन गरेको छ ।
प्रतिक्रिया दिनुहोस