काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालका लागि पञ्चवर्षीय रणनीति सार्वजनिक गरेको छ । रणनीतिमा आगामी पाँच वर्षका लागि नेपालसँगको सहकार्य, लगानी प्राथमिकता र अनुमानित लगानी प्रक्षेपण गरिएको छ।
एडीबीले सन २०२० देखि २०२४ सम्मका लागि नयाँ ‘कन्टी पार्टनरसिप स्टारटेजी’ सार्वजनिक गरेको हो। रणनीतिले आगामी दिनमा नेपालको आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण योगदान दिने एडीबीले जनाएको छ ।
अबको पाँच वर्षमा नेपालमा एडीबीको लगानी पूर्वाधार विकास सुधारिएको सेवा र वातावरणीय दिगोपनमा केन्द्रित हुनेछ। एडीबीले नेपालको पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागितालाई प्राथमिकता दिँदै आएको छ। नयाँ रणनीतिमा पनि यसैलाई निरन्तरता दिइएको छ।
यस कारण एडीबीले निजी क्षेत्रको नेतृत्वमा सुधारिएको पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको छ । यस्तै, सेवा क्षेत्रलाई व्यापक र प्रभावकारी बनाउने विषय एडीबीको दोस्रो प्राथमिकतामा छ।
दिगो वातावरणीय सुधारलाई पनि एडीबीले प्राथमिकताका साथ अघि बढाएको छ । नयाँ रणनीतिमा आगामी पाँच वर्षमा नेपालमा ५ सय मिलियन अमेरिकी डलर (करिब ५५ अर्व रुपेयाँ) देखि ६ सय मिलियन अमेरिकी डलर (करिब ६६ अर्ब रुपैयाँ) लगानी गर्ने अनुमान गरिएको छ । नेपाल संघीय संरचनामा गएसँगै उच्च रूपमा सामाजिक र आर्थिक वृद्धिका बाटोमा छ ।
यस्तो अवस्थामा एडीबीको नयाँ रणनीतिले उच्च आर्थिक वृद्धि, गरिबी निवारण, जीवनस्तर सुधारलगायतमा सहयोग गर्ने विज्ञप्तिमा उल्लेख छ। ‘पछिल्लो एक दशकमा नेपालले गरिबीको दर तीव्र रूपले घटाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अब अघि बढ्नका लागि पूर्णरूपमा संघीयता कार्यान्वयन महत्त्वपर्ण पूर्वाधारमा लगानी विस्तार र निजी लगानी प्रोत्साहन गर्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस