aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

एक व्यक्ति, दुई जन्म मिति : ‘वेइटिङ आर्मीचिफ’ ताराध्वज पाण्डेविरुद्ध उजुरीका चाङ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ कार्तिक २०८०
एक व्यक्ति, दुई जन्म मिति : ‘वेइटिङ आर्मीचिफ’ ताराध्वज पाण्डेविरुद्ध उजुरीका चाङ

नागरिकता नम्बर : १६८१-१६०८६

जन्ममिति : २०२१/१०/१२

 

नागरिकता नम्बर : ३६०८६

जन्ममिति : २०२३/८/२३

काठमाडौं । यी दुई नागरिकता नम्बर र जन्ममिति कुनै दुई व्यक्तिको होइन । एकै व्यक्ति, त्यो पनि देशको प्रमुख सुरक्षा अंग नेपाली सेनाको प्रधानसेनापति बन्ने रोलक्रम (वेटिङ आर्मीचिफ) मा रहेका उपरथी ताराध्वज पाण्डेको हो ।

दुईवटा नागरिकता र त्यसैअनुसारका शैक्षिक प्रमाणपत्र तेर्स्याएर जंगी अड्डामा हालीमुहाली गरिरहेका पाण्डे अबको प्रधानसेनापति बन्न जोडतोडले लागिपरेका छन्‌ । तर, यति नै खेर पाण्डेले कीर्ते गरी उमेर ढाँटी छली सेनामा जागिर खाइरहेका प्रमाणहरू सार्वजनिक भएका छन्‌ ।

नेपाली सेनाको मुख्यालय जंगीअड्डा भने कीर्तेमा अब्बल देखिएका उनै पाण्डेलाई प्रधानसेनापति बनाउन बढुवा सिफारिसको सूचना निकालेर नागरिक र सैनिक कानूनमाथि परेड खेल्दैछ । पाण्डेलाई ७ दिनभित्र उपरथीबाट रथीमा बढुवा गर्न असोज २९ गते नै जंगीअड्डाले सूचना प्रकाशन गरेको थियो । तर, प्रधानसेनापति चीन भ्रमणमा रहेकाले पाण्डेलाई रथी बनाउनेगरी फाइल अघि बढ्न सकेको छैन ।

हालका प्रधानसेनापति शर्माले सेवावधि सकिएसँगै २०८१ भदौमा अवकाश लिनुपर्नेछ । नेपाली सेनाको आधुनिक इतिहासमै आर्थिक र फौजी आचरणमा आफैंमाथि सन्देश बढाएका शर्माले उत्तरवर्ती चयनमा पनि उस्तै रवैया अपनाएका हुन्‌ । प्रधानसेनापति बन्ने रोलक्रममा रहेका रथी सरोजप्रताप राणालाई म्याद थप्नै नदिई बिदामा राख्ने, अनि विवादस्पद छवीका उपरथी ताराध्वज पाण्डेलाई रथी बनाएर प्रधानसेनापतिको जिम्मेवारी दिने योजना शर्माकै हो ।

राणा बिदामा बसेको या अवकाश भएको १३ दिनभित्र यसबारे निर्णय भएन भने उपरथीमै ताराध्वज पाण्डे पनि घर जाने अवस्था भएकाले भावी प्रधान सेनापतिबारे नै अन्योल सिर्जना भएको छ । पाण्डेका विषयमा नागरिकता विवाद चर्किएकाले थप अन्योल सृजना भएको हो । सेना प्रमुखको रूपमा दुई वर्ष पूरा गरिसकेका शर्माले अब हुने नेपाली सेनाको प्रमुखको लाइन स्पष्ट हुने बताएका थिए ।

उपरथी पाण्डे सहकर्मी र जुनियर अधिकृतहरूलाई छाडा शब्दले गाली गर्ने तथा महिला अधिकृतहरूमाथि कुण्ठाग्रस्त व्यवहारका कारण समेत आलोचित रहेको जंगीअड्डास्रोत बताउँछ । द्वन्द्वकालमा बर्दियामा खटिँदा पाण्डे निःशस्त्र नागरिकको हत्या र सर्वसाधारण बेपत्ता पार्ने प्रकरणमा मुछिएका थिए ।

यसरी गरे कीर्ते

उमेर कीर्ते गरेर जागिर खाएको आरोप लागेका उपरथी पाण्डेको नागरिकता र त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रेसन कार्डमा उल्लेखित उमेर सूची भिडाउँदा झण्डै २ वर्षको फरक देखिन्छ । यो विषयमा अदालतमा मुद्दा पर्नासाथ पाण्डेलाई नैतिक संकट आइपर्नेछ ।

पाण्डेको नागरिकतामा जन्ममिति मंसिर २३ गते उल्लेख छ भने त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रेसन कार्डमा २०२१ माघ १२ गते रहेको प्रष्ट छ । यो जन्म मिति उनले २०७२ मा सच्याइएको जंगीअड्डा र विश्वविद्यालय स्रोतले जानकारी दियो । 

उमेर विवादमा के छ प्रचलन ?

निजामती तथा सैनिक सेवा नियमावली अनुसार नागरिकता र शैक्षिक प्रमाणपत्र लगायत सरकारी कागजमा व्यक्तिको उमेर फरक परे वा विवाद भए जुन पहिलो जन्म मिति हो; त्यसैलाई कायम गर्ने व्यवस्था छ ।

नेपाली सेनामा यसअघि पनि उमेर विवादमा सोही विधिबाट धेरै जर्नेलले पहिलो जन्म मितिका आधारमा अवकाश पाएका छन् । उपरथी पाण्डेको पहिलो जन्म मिति २०२१ माघ १२ गते उल्लेख भएकाले यसअनुसार उनले हालसम्म अवकाश पाइसक्नुपर्ने हो ।

उजुरी नै उजुरी

विवादास्पद उपरथी ताराध्वज पाण्डेविरुद्ध प्रधानमन्त्री कार्यालय, रक्षामन्त्री, जंगीअड्डा, मुख्यसचिव, रक्षासचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि जनताको गुनासो सुन्न सरकारले स्थापना गरेको हेलो सरकारसम्म उजुरी परेको छ ।


काठमाडौं बानेश्वरका निरज ढकालले प्रधानमन्त्री कार्यालयमा पेश गरेको उजुरीमा निज ताराध्वज पाण्डेमाथि सैनिक आचरण उल्लंघनदेखि शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोप लागिसक्दा पनि किन नेपाली सेनाबाट पदोन्नति गरी नेपाली सेनाको भावी प्रधानसेनापति बनाउन खोजिएको हो भनी प्रश्न गरिएको छ ।

हेलो सरकारमा दिइएको उजुरीमा ‘नेपालको प्रचलित कानुन र नेपाली सेनामा विगतमा भएको अभ्यासको नजिर समेतलाई विचार गर्दा कुनै पनि सरकारी कागजात सच्याउनु वा भिन्न व्यहोराको एउटै सरकारी कागजात गलत नियत राखी २ पटक लिनु कानुनी हिसाबले दण्डनिय हुन्छ र सरकारी कागजात कीर्ते सरह दण्ड हुन्छ । तसर्थ नागरिकता लगायत उठेका सम्पूर्ण विवादहरु उपर गहिरो सुक्ष्म र विश्वसनीय अनुसन्धान हुन आवश्यक’ रहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस