aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

इजरायली खोज्दै रूसी विमानस्थलमा आक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ कार्तिक २०८०
इजरायली खोज्दै रूसी विमानस्थलमा आक्रमण

एजेन्सी । मुस्लिम बहुल ककेसस गणतन्त्र दागेस्तानमा एक विमानस्थलमा हमला गरेको आशंकामा ६० जनालाई पक्राउ गरिएको रूसी प्रहरीले सोमबार बताएको छ । प्रहरीका अनुसार उनीहरूले यहुदी यात्रुहरूमाथि हमला गर्ने प्रयास गरिरहेका थिए ।

‘अल्लाहु अकबर’ (ईश्वर सबैभन्दा महान छन्) भन्ने नारा लगाउँदै दर्जनौं प्रदर्शनकारी आइतबार मखाचकाला विमानस्थलमा ढोका र अवरोधहरू तोडेर धावनमार्गमा आएका थिए । आन्तरिक मन्त्रालयले शान्ति कायम गर्ने प्रयास गर्दा नौ प्रहरी घाइते भएको र तीमध्ये दुई जनालाई अस्पतालमा भर्ना गरिएको बताएको छ ।

हिंसाका कारण इजराइलले आफ्ना नागरिकहरूको सुरक्षाका लागि रूससँग आग्रह गरेको छ । अमेरिकाले भने ‘यहुदी विरोधी प्रदर्शन’ को निन्दा गरेको छ ।

उडान ट्र्याकिङ वेबसाइट फ्लाइटराडार२४ ले तेल अविवबाट रेड विङ्ग्सको एउटा उडान आइतबार साँझ ७ बजे मखाचकालामा अवतरण भएको संकेत दिएको छ । 

स्वतन्त्र रूसी मिडिया आउटलेट सोताका अनुसार उक्त विमान ट्रान्जिटका लागि अवतरण भएको र दुई घन्टापछि पुनः मस्कोका लागि उडान भर्न लागेको थियो ।

दागेस्तानका गर्भनर सर्गेई मेलिकोभले उक्त घटनामा जिम्मेबार व्यक्तिहरूलाई सजाय दिइने प्रतिबद्धता व्यक्त गरे । दागेस्तानको आन्तरिक मन्त्रालयले पछि ६० जनालाई पक्राउ गरिएको जानकारी दिएको थियो ।

‘हमलामा एक सय ५० भन्दा बढी सहभागी भएको पहिचान भएको छ, तीमध्ये ६० जनालाई पक्राउ गरिएको छ’, मन्त्रालयले सोमबार बिहान एक विज्ञप्तिमा भनेको छ, ‘अहिले विमानस्थल सुरक्षाकर्मीको पूर्ण नियन्त्रणमा छ ।’

रूसको उड्डयन कार्यालयले सुरुमा नोभेम्बर ६ सम्म विमानस्थल बन्द हुने बताएको थियो, तर पछि मङ्गलबार पुनः खोल्ने जानकारी दिएको थियो । आइतबार साँझ इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले एक विज्ञप्तिमा भनेको थियो, ‘रूसी अधिकारीहरूले सबै इजराइली नागरिक र यहुदीहरूको रक्षा गर्नेछन्, दंगाकारीविरुद्ध निर्णायक कारवाही गर्नेछन् र यहुदी तथा इजराइलीहरू विरुद्ध हिंसा भड्काउनेविरुद्ध कारवाही गर्नेछन् भन्नेमा इजराइलको अपेक्षा छ ।’

प्रतिक्रिया दिनुहोस