aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

गुटेर्रेस आउने भएपछि लुम्बिनीमा श्रृङ्‌गार तामझाम

  • पुनहरि बेल्बासे
    पुनहरि बेल्बासे
  • सोमबार, १३ कार्तिक २०८०
गुटेर्रेस आउने भएपछि लुम्बिनीमा श्रृङ्‌गार तामझाम

भैरहवा । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेस लुम्बिनी आउने भएपछि तामझामका साथ सिँगारिएको छ । मंगलबार लुम्बिनीको मायादेवी मन्दिर परिसरमा कार्यक्रमको आयोजना तय गरिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

गुटेर्रेस लुम्बिनीमा आउने भएपछि चारैतिर सरसफाइ गरिएको छ भने सडक समेत दिनरात लगाएर कालोपत्रे गरिँदैछ । मंगलबार हुने संयुक्त राष्ट्र संघका महासचिव गुटेर्रेससँगको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, लुम्बिनी विकास कोषका पदाधिकारी, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका उच्च अधिकारी लगायतको उपस्थिति हुने कार्यक्रमको तयारी पूरा भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

संयुक्त राष्ट्र संघको पहलमा लुम्बिनी स्थापना भएको बताउँदै महासचिवको लुम्बिनी भ्रमणले शान्तिको सन्देश फैलने सदस्य सचिव शाक्यले बताए  । शान्तिदीपबाट संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसलाई स्वागत गर्ने र मायादेवी मन्दिर परिषरमा कार्यक्रमको आयोजना गरिएको शाक्यले जानकारी दिए ।

गुटेर्रेसको लुम्बिनी भ्रमण फलदायी हुने र पुरातत्व र वातावरणसम्बन्धी ठोस निर्णय हुने लुम्बिनी विकास कोषका कोषाध्यक्ष डुण्डीराज भट्टराईले बताए ।

नेपाल सन् १९५५ को १४ डिसेम्बरमा संयुक्त राष्ट्रसंघको सदस्य भएको हो । सदस्य भएको तीन वर्ष तीन महिनापछि राष्ट्रसंघबाट महासचिवस्तरमा नेपाल भ्रमण भएको थियो । आज भन्दा ६४ वर्षअघि १९५९ को १६ मार्चमा संयुक्त राष्ट्रसंघका महासचिवले नेपाल भ्रमण गरेका थिए ।

राष्ट्रसंघको दोस्रो महासचिव स्वीडिस अर्थशास्त्री एवं कूटनीतिज्ञ ड्याग ह्यामर्सोल्ड नेपाल भ्रमण गर्ने पहिलो महासचिव हुन् । सन् २००८ मा वान की मुनले नेपाल भ्रमण गरेका थिए । अहिले एन्टोनियो गुटेर्रेस नेपाल भ्रमणका लागि आएका हुन्‌ ।

यसअघि शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको जिम्मेवारीमा रहँदा सन् २००७ मा गुटेर्रेसले नेपालको भ्रमण गरेका थिए । महासचिव वान की मुनको कार्यकालपछि सन् २०१७ देखि महासचिवको जिम्मेवारीमा रहेका गुटेर्रेस अहिले दोस्रो कार्यकालका लागि महासचिवमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस