
एजेन्सी । इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सोमबार हमासविरुद्ध युद्धविराम गर्न स्पष्ट रूपमा अस्वीकार गरेका छन् । अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले इजराइलभित्र आश्चर्यजनक हमला गरेपछि इजराइलले हमासविरुद्ध युद्धको घोषणा गरेको छ ।
‘युद्धविराम गर्नु भनेको हमास र आतङ्कवादसँग आत्मसमर्पण गर्नु हो’, युद्धविरामका लागि संयुक्त राष्ट्रसंघीय एजेन्सीहरूको माग अस्वीकार गर्दै उनले भने ।
‘यस्तो हुने छैन’, विदेशी पत्रकारहरूसँग कुरा गर्दै नेतान्याहुले थपे, ‘इजराइलले विजय नभएसम्म यो लडाइँ लडिरहेन प्रतिज्ञा गरेको छ ।’हमासले गरेको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार चार सय जना मारिएका थिए भने हमासले २३० नागरिकलाई बन्धक बनाएको थियो ।
गाजामा ड्यारियन ग्याप बिर्साउने शरणार्थी संकट !
त्यसयता इजराइलले हमास शासित गाजाविरुद्ध नाकाबन्दी लगाउँदै बमबारी गरिरहेको छ । सेनाले उत्तरी गाजा क्षेत्रमा इजराइली पैदल सेनाको तस्बिर जारी गरेको छ । सोमबार प्रत्यक्षदर्शीहरूले गाजाको बाहिरी भागमा ट्याङ्कहरू रहेको बताएका छन् ।
इजराइलले २४ घन्टामा ६०० लक्ष्यमा निशाना बनाएको बताएको छ । यो अहिलेसम्म गरिएको मध्ये सबैभन्दा ठूलो बमबारी हो । सेनाले हमासबाट हराइरहेकी एक महिलालाई बचाएको बताएको छ ।
प्रधानमन्त्री नेतान्याहूले युद्धले हमासलाई ‘समाप्त’ पार्ने वाचा गरेका छन् । उनका अनुसार हमास समाप्त भएपछि यस्ता समूहका हमलाहरू दोहरिने सम्भावना हुँदैन ।
इजराइलले अक्टोबर ७ मा हमास र अन्य प्यालेस्टिनी लडाकू समूहले बन्धक बनाएका बन्धकहरूलाई मुक्त गर्ने पनि प्रतिबद्धता व्यक्त गरेको छ ।
संयुक्त राष्ट्रसंघले बारम्बार मानवीय युद्धविरामको आह्वान गरेको छ । सोमबार प्यालेस्टिनी शरणार्थीका लागि राष्ट्रसंघीय एजेन्सी युएनआरडब्दुले इजराइलले घेराबन्दी गरेको क्षेत्रमा मानवीय सहयोग पूरा गर्न अपर्याप्त रहेको भन्दै उक्त क्षेत्रमा सीमित सङ्ख्यामा ट्रकहरू प्रवेश गरेको बताएको थियो ।
प्रतिक्रिया दिनुहोस