
काठमाडौं । मंगलबारदेखि ललितपुरको जाउलाखेलमा फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालले आउँदै गरेको तिहार तथा छठ पर्वलाई समेत लक्षित गरी १६ औँ संस्करणको रूपमा गोदावरी फूलको प्रदर्शनी गरेको हो ।
जावलाखेलको खेल मैदानमा भएको यस प्रदर्शनी यही कार्तिक १८ गतेससञ्चालन हुनेछ । यस प्रदर्शनीको सह–आयोजक संस्थाको रूपमा पुष्प विकास केन्द्र रहेको छ । साथै सहयोगी संस्थाको रूपमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र, प्रायोजक संस्थाको रूपमा सेवा कोकोपिट र बैंकिङ साझेदार संस्थाको रूपमा कृषि विकास बैंक रहेको छ ।
यस प्रदर्शनीमा व्यावसायिक स्टल ५५, प्रतियोगितात्मक स्टल २ र सूचनामूलक ५ गरी जम्मा ६२ वटा प्रदर्शनी कक्षहरू रहेका छन् । यो प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकाले गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रम समेत रहेको छ । यस अन्तर्गत प्रदर्शनीमा सहभागी नर्सरी÷फर्महरूले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातीमा प्रतिस्पर्धा गराइने छ ।
प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिहरूमा १) मिनियचर, २) स्पाईडर, ३) रिफ्लेक्स, ४) ईन्कर्भ र ५) गोदावरीको कट फ्लावर प्रजाती रहेको छ । साथै मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरूलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टल तर्फ पनि प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा उत्कृष्ट हुने नर्सरी÷फर्मलाई सिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने छ ।
यस मेलामा नेपालमा विगत वर्ष देखि नै व्यवसायीक उत्पादन हुँदै आएको विविध जातका गोदावरी फूल बिरुवाहरूको साथै यस वर्ष भित्रिएका गोदावरी फूलको केही नयाँ प्रजातिका फूल बिरुवाहरूको समेत प्रदर्शनी तथा बिक्री वितरणमा राखिएको छ । यसका साथै यस सिजनमा फुल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवाहरूको समेत प्रदर्शनीमा समावेश हुनेछन् ।
व्यवसायका क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलमा नै प्रदान गरिने व्यवस्था मिलाइएको छ । विगतमा ४ दिने मेला हुने गरेकोमा यस वर्ष १ दिन थप गरी ५ दिने मेला आयोजना गरिएको हो ।
यस गोदावरी फूलको प्रदर्शनीमा ४० हजार बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोड भन्दा बढीको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
मेलाको थप आकर्षणहरूमा यस वर्ष सेवा कोकोपिटद्वारा प्रायोजित हरेक दिन बिक्री हुने गेट टिकट नम्बरको आधारमा सोही दिन बेलूकी लक्की ड्र गरी विजेता हुन सफल एक जना मेला अवलोकन कर्ताहरूलाई गमला सहितको ५ वटा आकर्षक गोदावरी फूलको बिरुवा र ५ किलोको सेवा कोकोपिट उपहार प्रदान गरिने छ ।
मेला अवधिभर मेला अवलोकन गर्न आउने दर्शक, अवलोकनकर्ता तथा व्यवसायीहरूको शून्य मौज्दातमा खाता खोली ३०० रुपैयाँ खातावालाको नाममा कृषि विकास बैंकले जम्मा गरी दिने छ । साथै खाता खोल्ने ग्राहकहरूलाई मेलामा जुनसुकै फूल बिरुवा खरिदमा १० प्रतिशत छुटको व्यवस्था पनि मिलाइएको छ ।
प्रतिक्रिया दिनुहोस