aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सबै देशलाई शान्तिको लागि कार्य गर्न गुटेर्रेसको आह्वान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ कार्तिक २०८०
सबै देशलाई शान्तिको लागि कार्य गर्न गुटेर्रेसको आह्वान

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनी पुगेर संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले संसारका सबै देशलाई शान्तिको लागी कार्य गर्न आह्वान गरेका छन् । मंगलवार लुम्बिनी भ्रमण गरेपछि मायादेवी मन्दिर परिसरमा पत्रकारहरूलाई सम्बोधन गर्दै गुटेरेसले अहिले मध्य पूर्वी देश, युक्रेन, इजरायल, सुडान लगायत देशमा फैलिएको द्वन्द्वका कारण मानवअधिकार र अन्तर्राष्ट्रिय कानुन कुण्ठित भएको बताएका हुन् ।

शान्ति र आध्यात्मिकता स्थल भ्रमण गर्न पाउँदा गौरवान्वित महसुस गरेको बताउँदै गुटेरेसले संसारमा बढ्दै गएको अशान्तिको समाधान गर्न बुद्धले दिएको मित्रता, अहिंसा र अन्तरनिर्भरताको शिक्षाले भूमिका खेल्न सक्ने बताए । महासचिव गुटेरेस सँगै लुम्बिनी पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संसारभर शान्तिको सन्देश लुम्बिनीबाट आफूहरूले दिन चाहेको बताए ।

दाहालले शान्तिको बाधक तत्त्व सबैलाई पहिचान गरेर समाधानको बाटो खोज्न सकिए शान्ति कायम रहिरहने जानकारी दिए । जलवायु परिवर्तनका कारण नेपालको हिमालय क्षेत्रमा देखिएको प्रभाव बारे महासचिव गुटेरेस मार्फत दाहालले पत्रकार सम्मेलनमा राष्ट्र संघलाई जलवायुको परिवर्तनको असर बारे सचेत गराए ।

महासचिव गुटेरेस बिहान अन्नपूर्ण बेस क्याम्प पुगेर पोखरा हुँदै नेपाली सेनाको हेलिकप्टरमा लुम्बिनी पुगेका थिए । लुम्बिनीमा गुटेरेस करिब १ घण्टा बिताए । प्रधानमन्त्री प्रचण्डले महासचिव गुटेरेसलाई लुम्बिनीको लिटिल बुद्धमा स्वागत गरेपछि पवित्र बगैँचा भित्र वृक्षारोपण गरिएको थियो । महासचिव गुटेरेसले लुम्बिनीमा एउटा सालको बिरुवा रोपेका छन् । वृक्षारोपण पछि मायादेवी मन्दिर भित्र गुटेरेसले गौतम बुद्धको जन्मशिलाको दर्शन गरेका थिए । मायादेवी मन्दिर परिसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्यारक्यार लामाले महासचिव गुटेरेसलाई लुम्बिनीमा स्वागत गरेका थिए । लुम्बिनी विकास कोषको भ्रमण पुस्तिकामा महासचिव गुटेरेसले हस्ताक्षर गरेपछि पत्रकार सम्मेलन मार्फत महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस