aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

२४ वर्ष देखि अलपत्र छ यो खानेपानी आयोजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ असोज २०७६
२४ वर्ष देखि अलपत्र छ यो खानेपानी आयोजना

बुटवल । एउटा खानेपानी आयोजना सम्पन्न हुन कति वर्ष लाग्ला ? सामान्यतयाः ५,१० या १५ ? तर, बुटवलमा २४ वर्षअघि सुरु गरिएको एउटा खानेपानी आयोजना अझै पूरा भएको छैन। लामो समय आयोजना सम्पन्न नहुँदा बुटवलबासी खानेपानीको अभाव झेल्न बाध्य छन् । 

२०५२/०५३ सालमा पाल्पाको सिस्ने खोलाबाट पानी बुटवल ल्याउन झुम्सा खानेपानी आयोजना सुरु भएको हो। २३ वर्षमा धेरैवटा सरकार फेरिए। बुटवलबाट धेरैजना नेता सांसद, मन्त्री भए। यो आयोजनाको नियति फेरिएन । 

सफा र शुद्ध पानी खाने बुटवलबासीको सपना कहिल्यै पूरा भएन । नगरबासीले दुई दशकदेखि हिउँदभर धारामा पानी नआउने र बर्खामा धमिलो पानी खानुपर्ने समस्या झेल्दै आएका छन्।

खानेपानी संस्थान, बुटवलका अनुसार यहाँ दैनिक तीन करोड ४० लाख लिटर पानीको माग छ। आपूर्ति पुगनपुग दुई करोड लिटर छ। दीपनगर, सुक्खानगर र बेलवास क्षेत्रमा खानेपानीको चरम समस्या छ। 

हाल संस्थानले ६० प्रतिशत पानी तिनाउ खोलाबाट पम्पले तानेर वितरण गर्छ। यसअन्तर्गत १६ हजार धारा छन् । हरेक वर्ष ७/८ सयको हाराहारीमा नयाँ धारा जडानको निवेदन पर्छ । बर्खामा खोलाको पानी धमिलो हुन्छ। त्यसबाहेक १९ वटा बोरिङमार्फत पनि पानी वितरण गरिएको छ। तर तिनाउ र चुरेको अनियन्त्रित दोहनले जमिनमुनिको पानीको सतह घट्दै जाँदा पहिले जस्तो
बोरिङबाट पानी आउँदैन ।  यसका कारण हिँउदमा पानीको चरम अभाव हुन्छ ।

बुटवलको बढ्दो जनघनत्व र सुक्दै गएको भूमिगत जलस्रोतका कारण खानेपानीको समस्या भविष्यमा झन्बि कराल बन्नेतर्फ सम्बन्धित निकायले बेलैमा ध्यान दिनुपर्ने बताउँछन्, बुटवलका पूर्वमेयर पुनाराम पोखरेल। ‘अस्थिर राजनीतिक अवस्थाको फाइदा उठाउँदै आर्थिक चलखेलहरू भए । कागजी निर्णय गर्ने, कार्यान्वयन नगर्ने प्रवृत्ति हाबी भए। अब पनि त्यस्तो अवस्था आए नगरबासी चुप लागेर बस्ने छैनन्,' पोखरेलले भने । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
 

प्रतिक्रिया दिनुहोस