आर्थिक अवसर र बाध्यता खुला परिवेश, अनि ‘केही गर्न सक्छु’ भन्ने भावनालाई साकार पार्ने कार्य कत्तिको चुनौतीपूर्ण हो त्यो खगेन्द्रभन्दा बढी कसलाई थाहा हुन सक्छ ।
कर्जन्हा नगरपालिका-२ बन्दीपुरका खगेन्द्र लकान्द्रीले बाउबाजेले जसोतसो टिकाएको खुकुरी बनाउने कामलाई अहिले उद्योगको रूपमा स्थापित मात्र गरेका छैनन्, १० जनालाई रोजगारी पनि दिएका छन्।
खुकुरी बनाउने काम कथित अछूतले गर्ने हो । यस्तो काम पनि कोही गर्छ, बरु विदेश जाउँ भनेर समकालीनले कम्ता जिद्दी गरेनन् । धेरै समकालीन विदेश हान्निए पनि। तर खगेन्द्रले पुर्खाले जसोतसो टिकाएको कामलाई नै निरन्तरता दिए। उनले पुख्यौली पेसामा व्यावसायिकता थपेर फैलाउने अठोर गरे। उनी लगन, मिहिनेत र दृढ अठोटलाई निरन्तरता दिँदै अघि बढिरहे।
हुन त यसअघि उनले व्यपारमा कहिल्यै हात हालेका थिएनन् । उनी नेपाल राष्ट्रिय फलकमारी महतो माध्यमिक विद्यालय बन्दिपुरमा लेखापालको पदमा कार्यरत थिए । ६ वर्ष लेखापालको रूपमा काम गरेपछि उनले जागिर छाडे । जागिर छोडेर २०७१ सालमा खुकुरी बनाउने पुख्यौली पेसासँग जोडिन पुगे, उनी। त्यसयता स्वरोजगारमै रमेका छन्। उनले बन्दिपुरमा सञ्चालनगरेको उद्योगमा सिरूपाते, भोजपुरे, बेहुला, चैनपुरे, तीनचिरे, पानचिरे लगायत खुकुरी बनाउन कालिगढलाई भ्याइनभ्याई हुन्छ। बिबिएससम्म अध्ययन गरेका खगेन्द्रले पूर्व-पश्चिम राजमार्गको बन्दिपुर बजारमा ‘मन्दिरा भोजपुरे खुकुरी उद्योग’ सञ्चालन गरेका छन्।
उनको उद्योगमा उत्पादित खुकरी स्वदेशमा मात्र नभई विदेशसम्म निर्यात हुन्छ। बन्दिपुर बजारमा व्यापार ओरालो लागिरहेका बेला युवाहरू बिदेसिने क्रम बढ्दो थियो। त्यो बेला सरकारी जागिर छोडेर खगेन्द्रले उल्टो यात्रा थालेका थिए ।
उनी पुख्यौली व्यापारमा जोडिदा धेरैले भन्थे-छिट्टै डुब्छ। यो व्यापार डुबाएर विदेश हानिन्छ भनेरकुरा काट्नेहरू थुप्रै थिए । तर उनी कटाक्षको परबाह नगरी आफ्नो योजना साकार पार्न अघि बढे । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस