aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भारत-बंगलादेश अन्तरदेशीय तीन परियोजना उद्‌घाटन, लागत २ खर्ब ६८ अर्ब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ कार्तिक २०८०
भारत-बंगलादेश अन्तरदेशीय तीन परियोजना उद्‌घाटन, लागत २ खर्ब ६८ अर्ब

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका बंगलादेशी समकक्षी शेख हसिनाले बुधबार भिडियो कन्फरेन्सिङमार्फत भारतीय सहयोगमा निर्मित तीन वटा परियोजनाको संयुक्तरूपमा उद्घाटन गरेका छन्‌ । यी परियोजनाको लागत २ खर्ब ६८ अर्ब रुपैयाँभन्दा बढी हो ।

ती परियोजनामा अखौरा–अगरतला क्रस बोर्डर रेल लिंक, खुलना–मोंगला पोर्ट रेल लाइन र बंगलादेशको रामपालमा मैत्री सुपर थर्मल पावर प्लान्टको युनिट–२ रहेका छन् । भारत र बंगलादेशबीच रेल र विद्युत् क्षेत्रको परियोजनाहरूको उद्घाटन दुवै मुलुकबीचको सम्बन्ध र साझेदारीलाई सुदृढ बनाउन केन्द्रित रहेको बताइएको छ । 

‘यी महत्वपूर्ण परियोजनाहरूको संयुक्त उद्घाटनले हाम्रा दुई मित्र राष्ट्रबीचको दृढ मित्रता र सहयोगलाई प्रकट गर्दछ । जी२० शिखर सम्मेलनमा भाग लिन सन् २०२३ सेप्टेम्बरमा मेरो भारत भ्रमणका क्रममा प्रधानमन्त्री मोदीको न्यानो आतिथ्यताका लागि म धन्यवाद दिन चाहन्छु’, बंगलादेशका प्रधानमन्त्री हसिनाले भनिन्‌, ‘म हाम्रो दुवै मुलुकबीचको मित्रताको बन्धनलाई सुदृढ बनाउने तपाईंको प्रतिबद्धताप्रति आभार व्यक्त गर्दछु ।’

अखौरा–अगरतला क्रस बोर्डर रेल लिंक परियोजना भारत सरकारले बंगलादेशलाई दिएको तीन अर्ब ९२ करोड ५२ लाख भारतीय रुपैयाँको अनुदान सहयोगअन्तर्गत कार्यान्वयनमा ल्याइएको हो । बंगलादेशमा छ दशमलव ७८ किलोमिटर डबल गेज रेल लाइन र त्रिपुरामा पाँच दशमलव ४६ किलोमिटरसहित रेल लिंक गरी कूल लम्बाइ १२ दशमलव २४ किलोमिटर रहेको छ ।

खुलना–मोंगला पोर्ट रेल लाइन परियोजना भारत सरकारको सहुलियतपूर्ण ऋणअन्तर्गत ३८ करोड ८९ लाख २० हजार अमेरिकी डलरको लागतमा कार्यान्वयनमा ल्याइएको हो । यो परियोजनामा मोंगला बन्दरगाह र खुलनामा विद्यमान रेल नेटवर्कबीच करिब ६५ किलोमिटर ब्रोड गेज रेलमार्ग निर्माण समावेश छ । यसका साथै बंगलादेशको दोस्रो सबैभन्दा ठूलो बन्दरगाह मोंगला ब्रोड गेज रेलवे नेटवर्कसँग जोडिएको छ । 

मैत्री सुपर थर्मल पावर परियोजना एक अर्ब ६० करोड अमेरिकी डलरको भारतीय सहुलियतपूर्ण ऋणअन्तर्गत बंगलादेशको खुलना डिभिजनमा रामपालस्थित एक हजार तीन सय २० मेगावाटको सुपर थर्मल पावर प्लान्ट हो । उक्त परियोजना भारतको एनटीपीसी लिमिटेड र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीचको आधा आधा लगानी भएको बंगलादेश–भारत मैत्री पावर कम्पनी लिमिटेडले कार्यान्वयनमा ल्याएको हो । यी परियोजनाले यस क्षेत्रमा कनेक्टिभिटी र ऊर्जा सुरक्षालाई सुदृढ पार्नेछन् । 

पछिल्लो दशकमा बंगलादेश–भारत मैत्री संवादले दुवै देशबीच द्विपक्षीय सम्बन्धहरूलाई सुदृढ बनाउन महत्वपूर्ण मञ्चका रूपमा काम गरेको छ । बीएनएन न्युजका अनुसार यो वर्षको संवादको विषय ‘बृहत् र पारस्परिकरूपमा लाभदायक साझेदारीलाई बढाउने’ रहेको छ ।

प्रतिक्रिया दिनुहोस