
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरेको आरोपमा तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लगायत पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौं मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार राजस्व चुहावटको आरोप लाग्नेहरुमा चन्द्रपुर नगरपालिका रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सिग्देल र लेखा अधिकृत÷राजस्व शाखा प्रमुख किर्तिराज सुवेदीसहित तीन जना रहेका छन् । उनीहरुले आशिक कन्स्ट्रक्सनसँगको मिलेमतोमा उक्त नगरपालिका अन्तर्गत पर्ने चाँदी खोलाको पूर्वाधार उपयोग कर संकलनको लागि लगाएको ठेक्कामा अनियमितता गरी राजस्व छली गरेको आयोगको आरोप छ ।
उनीहरुले अठ्ठाइस लाख पच्चीस हजार पाँच रुपैया पैसठ्ठी पैसा बराबरको घटी राजस्व रकम असुल गरी राजस्व चुहावट गरेको आयोगको ठहर छ । उनीहरुसंग सोहि बराबरको मागदाबी गरिएको छ ।
त्यस्तै, चन्द्रपुर नगरपालिका रौतहटका तत्कालीन नगर प्रमुख रामचन्द्र चौधरी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सिग्देलसहित ४ जना पनि राजस्व चुहावट गरेको पाइएको छ । उनीहरुले पनि आशिक कन्स्ट्रक्सनसँगको मिलेमतोमा उक्त नगरपालिका अन्तर्गत पर्ने चाँदी नदीको नदीजन्य पदार्थ उत्खनन एवं बिक्री गर्न लगाएको ठेक्कामा अनियमित तवरले नदीजन्य पदार्थ उत्खनन गरी राजस्व छली गरेको पाइएको छ ।
उनीहरुले १७ लाख अठ्सठ्ठी हजार रुपैयाँ बराबरको घटी राजस्व रकम असुल गरी राजस्व चुहावट गरी गराई भ्रष्टाचारजन्य कसुर गरेको आयोगको ठहर छ । उनीहरुले नदीजन्य पदार्थ अबैध रुपमा उत्खनन् गराई सैतीस लाख चौतीस हजार एक सय अन्ठानब्बे रुपैयाँ छ पैसा रकम बराबरको अवैध रुपमा अधिक नदीजन्य पदार्थ उत्खनन गराई नगरपालिकालाई उक्त रकम बराबर राजस्व हानिनोक्सानी पुर्याइ पचपन्न लाख दुई हजार एक सय अन्ठानव्वे रुपैया छ पैसा रकम राजस्व चुहावट गरेको अख्तियारको आरोप छ ।
प्रतिक्रिया दिनुहोस