aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

तारा एयरका दुई क्याप्टेनकाे झगडा प्रहरीकाेमा पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ कार्तिक २०८०
तारा एयरका दुई क्याप्टेनकाे झगडा प्रहरीकाेमा पुग्यो
फाइल फोटो

मन्थली । रामेछाप विमानस्थलमा दुई पाइलटबीच हात हालाहाल भएको छ । आज बिहान काठमाडौं कोटेश्वर निवासी तारा एयरका वरिष्ठ क्याप्टेन सन्तोष शाहलाई सोही एयरका क्याप्टेन सञ्जीव श्रेष्ठले थप्पड हानी धकेकेलेका थिए । 

क्याप्टेन शाहले आफू बिहान ८ः३० बजे लुक्लाबाट रामेछापको मन्थली विमानस्थलमा आएको विमानबाट ओर्लिएको र क्याप्टेन सञ्जीव श्रेष्ठ लुक्ला उडानका लागि विमानस्थलमा रहेको जहाजतर्फ जाँदै हात मिलाउने क्रममा श्रेष्ठले थप्पड हानेको बताए । वरिष्ठ क्याप्टेन शाहले आफूमाथि हातपात गर्ने श्रेष्ठमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक (डिएसपी) होमबहादुर पराजुलीले जानकारी दिए । 

“आफूमाथि कुटपिट भएको भन्दै निवेदन दर्ता गर्न आउनुभएको थियो, क्याप्टेन श्रेष्ठलाई फोन गरेर सोध्दा उहाँले म लुक्ला छु हाम्रो सामान्य विवाद भएको हो म त्यहीँ आएर छलफल गरौँला भन्नुभएको थियो”, डिएसपी पराजुलीले भने । उनले यस विषयमा अनुसन्धान गरिरहेको बताए । 

दुई पाइलटबीच के कारणले विवाद भएको हो भन्ने विषयमा आफूलाई जानकारी नभएको नागरिक उड्डयन प्राधिकरण रामेछापका प्रमुख अशोक थापाले बताए । उनका अनुसार घटनापछि क्याप्टेन शाह भएको विमान मन्थली विमानस्थलमा ग्राउण्डेड गरिएको छ भने लुक्ला पुगेका श्रेष्ठलाई पनि लुक्ला विमानस्थलमै ग्राउण्डेड गरिएको छ । 

प्रतिक्रिया दिनुहोस