aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

मध्यरातमा भूकम्पको धक्का, कर्णालीका केही जिल्लामा घर भत्किए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ कार्तिक २०८०
मध्यरातमा भूकम्पको धक्का, कर्णालीका केही जिल्लामा घर भत्किए

काठमाडौँ। पश्चिम नेपालको जाजरकोट जिल्लामा  केन्द्रबिन्दु रहेर शुक्रबार राति भूकम्प गएको छ । मध्य राति ११:४७ बजे पश्चिम नेपालको कर्णाली प्रदेशस्थित जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएको सो भूकम्प ६.४ रेक्टर म्याग्निच्यूडको रहेको बताइएको छ।

भुईँचालोबाट जाजरकोटको खलङ्गा र आसपासका क्षेत्रमा केही घरहरू भत्किएको प्रारम्भिक सूचना प्राप्त भएको छ । स्थानीयहरूका अनुसार छिमेकी जिल्लाहरू सल्यान र रोल्पामा पनि केही घर भत्किएका छन् ।

भारतीय सञ्चारमाध्यमहरूले भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्लीमा समेत महसुस गरिएको जनाएका छन् । नेपालको राजधानी काठमाडौँमा समेत ठुलो धक्का महसुस गरिएको सो भूकम्पले उत्तरी क्षेत्र तिब्बतमा समेत अत्त्याएको अनुमान गरिएको छ । अहिलेसम्म मानवीय क्षतिको कुनै विवरण भने आएको छैन। तर, सो क्षेत्रमा ठूलो भौतिक क्षति भएको अनुमान गरिएको छ ।

केही समययता पश्चिम नेपालका विभिन्न ठाउँमा केन्द्रबिन्दु बनाएर लगातार भुईँचालो गइरहेका छन्। यसलाई केही भूगर्भविद्हरूले ०७२ सालको भूकम्पको पराकम्प भने पनि धेरैले पश्चिम नेपालमा निकै ठूलो भूकम्प जान सक्ने सम्भावनालाई पटक पटक दोहोर्‍याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस