aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

दशैँमा घर गएका प्रहरी जवान कुटपिट गरी झाडीमा फाल्ने ६ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ असोज २०७६
दशैँमा घर गएका प्रहरी जवान कुटपिट गरी झाडीमा फाल्ने ६ जना पक्राउ

ओखलढुंगा । ओखलढुंगामा दशैँ मनाउन घर जाँदै गरेका प्रहरी जवानमाथि मरणासन्न हुने गरी कुटपिट गर्ने एक समूहलाई प्रहरीले पाक्राउ गरेको छ ।
ताप्लेजुङमा कार्यरत प्रहरी जवान विनोद परियार र उनका भाइ निरकुमार परियारलाई मरणासन्न हुने गरी कुटपिट गर्ने विवेक तामाङसहित अन्य ६ जनालाई पक्राउ गरेको हो ।

श्रीमती र बच्चासहित गत असोज १९ गते महाअस्टमीको दिन झापादेखि ओखलढुंगासम्म आएका परियारका दाजुभाइलाई मिलनचौक देखी स्थायी घर चिशंखुगढी गाउँपालिका पोखरेसम्म जाने क्रममा सिद्धिचरण नगरपालिका ३ बास्बोटेमा पुगेपछि गाडीबाट झारेर उनीहरूले कुटपिट गरेका थिए ।

कुपटिपबाट परियार दाजुभाइको आँखा, टाउको लगायतका शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । उनीहरूको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

झापाबाट आएर मिलनचौकमा ओर्लिएपछि पोखरेको गाडी चढ्ने क्रममा युवाहरूको समूहले विनोदका श्रीमतीलाई जिस्काएपछि उनिहरुबीच विवाद सुरु भएको थियो । त्यसपछि केही समयको विवादपछि उनीहरू मिलेर स १ ज ५५२ नम्बरको गाडीमासँगै पोखरेतर्फ लागेका थिए ।

तर सिद्धिचरण नगरपालिका ३ बास्बोटेमा पुगेपछि केटाहरूले गाडी रोकेर प्रहरी जवान विनोद र उनका भाइ निरकुमारलाई बाहिर निकाली मरणासन्न हुने गरी कुटपिट गरेर झन्डै २० मिटर तल झाडीमा फ्याँक्दिएको ओखलढुंगा प्रहरी प्रमुख पुष्पराज मल्लले बताए ।

विनोदका श्रीमतीले आफ्ना श्रीमान् र देवरमाथि कुटपिट भएको भन्दै प्रहरीमा खबर गरेपछि प्रहरीले उद्धार गरी उपचारमा लागेको प्रमुख मल्लको भनाई छ । परियार दाजुभाइमाथि मुक्का,रड,ढुङ्गा लगायत बस्तु प्रहार भएको प्रहरीको अनुमान छ ।

कुटपिटमा १० देखी १२ जना युवाहरूको संलग्नता रहेको भए पनि ६ जना पक्राउ परेको र अन्यको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । उनीहरूमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस