aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सोह्रौं योजना तर्जुमाबारे छलफल गर्न आयोगको टोली प्रदेशमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० कार्तिक २०८०
सोह्रौं योजना तर्जुमाबारे छलफल गर्न आयोगको टोली प्रदेशमा

काठमाडौं । राष्ट्रिय योजना आयोगले सोह्रौं योजनाका लागि प्रदेशगत रुपमा छलफल गर्न सुरु गरेका छ । सातै प्रदेशमा जाने योजना अनुरुप योजना आयोगले छुट्टाछुट्टै टोली बनाएर छलफलका लागि पठाएको हो । 

आयोगले आज सोमबार मधेश प्रदेशसहितका ठाउँहरूमा छलफल गर्दैछ । मधेश प्रदेशको जनकपुरमा भइरहेको छलफलमा मधेश प्रदेश सरकारका मूख्यमन्त्रीसहित स्थानीय तह र निजी क्षेत्रका प्रतिनिधिहरू समेत सहभागी छन् । 

आयोगका प्रवक्ता यमलाल भुसालका अनुसार सोह्रौं योजनाको मस्यौदाका बारेमा सबै प्रदेशमा आयोगका सदस्यको नेतृत्वमा टोली परिचालन गरिएको छ । कर्णाली प्रदेशमा भने प्राकृतिक विपत्तीका कारण तत्काललाई स्थगित गरिएको छ । बाँकी सबै प्रदेशमा आयोगको टोली खटाइएको छ ।

कसको नेतृत्वमा कुन प्रदेश ? 

आयोगका प्रवक्ता सहसचिव भुसालका अनुसार कात्तिक २० गते आज र भोलि २१ गते बागमती प्रदेशको हेटौडा, मधेश प्रदेशको जनकपुर र सुदुरपश्चिम प्रदेशको धनगढीमा छलफल कार्यक्रम राखिएको छ ।

यसका लागि आयोगका सदस्यहरू डा. प्रभु बुढाथोकी, डा. जयकान्त राउत, डा. रामकुमार फुयाँल र डा. अनिता शाह ढुंगानाको नेतृत्वमा छुट्टछुट्टै टोली परिचालन गरिएको छ । 

यस्तै कात्तिक २३ र २४ गते कोशी प्रदेशको विराटनगर र लुम्बिनी प्रदेशको बुटवलमा छलफल कार्यक्रम राखिएको प्रवक्ता भुसालले जानकारी दिए ।

उनका अनुसार यी दुई प्रदेशका लागि आयोग सदस्य डा. आरपी बिच्छा र डा. रमेशचन्द्र पौडेलको नेतृत्वमा टोली परिचालन गरिएको छ । कर्णाली प्रदेशमा भने भूकम्पका कारण टोली रोकिएको उनले जानकारी दिए । 

प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रहरूको समेत सुझाव संकलन गरेर सोह्रौं पञ्चवर्षीय योजना तयार पार्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस