aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

रूसले डिसेम्बरसम्म दैनिक तीन लाख ब्यारेल तेल निर्यात कटौती गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० कार्तिक २०८०
रूसले डिसेम्बरसम्म दैनिक तीन लाख ब्यारेल तेल निर्यात कटौती गर्ने

एजेन्सी । रूसले सन् २०२३ को अन्त्यसम्म प्रतिदिन तीन लाख ब्यारेल अतिरिक्त स्वेच्छिक तेल निर्यात कटौतीलाई जारी राख्ने रूसी समाचार एजेन्सी तासले बताएको छ । सेप्टेम्बर र अक्टोबरमा तेल र तेल उत्पादनको निर्यातमा गरिएको कटौतीलाई सन् २०२३ डिसेम्बरसम्म जारी राखिने रूसी उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले आइतबार बताए । 

‘रूसले सेप्टेम्बर र अक्टोबरसम्मका लागि लागू गरेको विश्व बजारहरूमा आफ्नो तेल र तेल उत्पादनहरूको आपूर्तिमा प्रतिदिन तीन लाख ब्यारेल अतिरिक्त स्वेच्छिक कटौतीलाई यो वर्षको डिसेम्बरसम्म जारी राख्नेछ’, उनले भने । तासका अनुसार तेल उत्पादनमा कटौती जारी राख्ने वा बढाइने भन्ने निर्णय अर्को महिना बजार विश्लेषण गरिने उनले बताए । 

उक्त कदम सन् २०२३ अप्रिलमा रूसले घोषणा गरेको स्वेच्छिक तेल उत्पादनमा दैनिक पाँच लाख ब्यारेल कटौतीको पूरक हो र यो सन् २०२४ डिसेम्बरसम्म लागु हुनेछ । उपप्रधानमन्त्री नोभाकले अतिरिक्त कटौतीको प्रयोग पेट्रोलियम निर्यातकर्ता मुलुकहरूको सङ्गठन ओपेक प्लसको तेल बजारहरूमा स्थिरता र सन्तुलन कायम गर्ने कदम बढाउन थप कटौती गरिएको बताए ।  

रूसले मार्चसम्म स्वेच्छिकरूपमा फेब्रुअरीको औसत पाँच लाख ब्यारेल तेल उत्पादन कटौती सुरु गरेको थियो । यसका साथै उत्पादनमा कटौतीको अवधि वर्षमा धेरै पटक बढाइएको थियो । तासका अनुसार भियनामा जुन ४ मा भएको ओपेक प्लसको बैठकपछि उत्पादन कटौतीलाई सन् २०२४ डिसेम्बरसम्म बढाइएको थियो । 

यसका साथै रूसले अगस्टमा विश्व बजारमा तेल निर्यातलाई अतिरिक्त पाँच लाख ब्यारेल प्रतिदिन कटौती गर्ने निर्णय गर्यो । यो वर्षको अन्त्यसम्म उक्त कदमलाई जारी राख्ने निर्णय गरिएपछि सेप्टेम्बरमा निर्यातमा प्रतिदिन तीन लाख ब्यारेल कटौती गर्न सुरु गरेको तासले बताएको छ । 

प्रतिक्रिया दिनुहोस