
एजेन्सी । विश्वकै प्रदूषित शहर बनेपछि भारतको राजधानी दिल्लीमा जोरबिजोर प्रणाली लागू भएको छ । दिल्ली सरकारले सवारीसाधन सञ्चालनमा जोरबिजोर प्रणाली कार्यान्वयन गरेको हो ।
विश्व वायु नियामक संस्था आइक्यू एअरका अनुसार यतिखेर दिल्लीमा वायु प्रदूषण चरमसीमामा पुगेको छ । त्यहाँको एअर क्वालिटी इन्डेक्स(एक्यूआई लेभल २३० सम्म पुगेको छ । दिल्लीपछि पाकिस्तानका लाहोर र कराँची पनि प्रदूषक शहरको शीर्ष सूचीमा छन् ।
दिल्लीका हकमा सास फेर्नै नसक्ने स्थिति भएपछि मुख्यमन्त्री अरबिन्द केजरीवाल नेतृत्वको सरकारले नोभेम्बर १३ देखि २० सम्म जोरबिजोर प्रणाली घोषणा गरेको हो । सवारीसाधन सञ्चालनमा जोरबिजोर प्रणाली कार्यान्वयन गर्नेगरी दिल्ली सरकारको उच्चस्तरीय बैठकमार्फत निर्णय गरेको हो ।
त्यहाँका विद्यालयहरूलाई पनि वायु प्रदूषणको अवस्था ध्यानमा राख्दै १० र १२ कक्षा बाहेक सबै भौतिक कक्षाहरू बन्द गर्न निर्देशन दिइएको छ । साथै दिल्लीका निजी र सरकारी कार्यालयमा कार्यरतमध्ये ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ ।
प्रदूषण मापदण्ड पूरा नगरेका सवारीसाधनले फाल्ने विषाक्त धुवाँ तथा प्लास्टिक र अन्य जैविक बस्तु बाल्दा निस्कने धुवाँले दिल्ली हरेक वर्ष विश्वको प्रदूषित शहरमा पर्ने गरेको छ । हिउँद लागेसँगै शुरु हुने प्रदूषणको लहरले नेपालको राजधानी काठमाडौंलाई समेत रेकर्ड स्तरमा पुर्याउँछ । हाल काठमाडौं विश्वका अतिप्रदूषित शहरको दशौं नम्बरमा छ ।
प्रतिक्रिया दिनुहोस