aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

जी-७ बैठक जापानमा बस्दै, इजरायल-हमास द्वन्द्व प्राथमिकतामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ कार्तिक २०८०
जी-७ बैठक जापानमा बस्दै, इजरायल-हमास द्वन्द्व प्राथमिकतामा

एजेन्सी । विश्वका साविक प्रमुख औद्योगिक राष्ट्रहरूको समूह जी–७ बैठक जापानमा बस्न लागेको छ । सदस्य र आमन्त्रित देशका प्रतिनिधिहरू आइरहँदा यो पटक जी-७ बैठकमा पश्चिम एसियामा इजरायल र हमासबीच भइरहेको संघर्षले प्राथमिकता पाउने भएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्‌केन इजरायल भ्रमण सम्पन्न गर्नासाथ जी-७ बैठकमा भाग लिन जापान पुगेका छन्‌ । अमेरिकाको बढी प्रभाव रहेको जी-७ बैठकमा उनले इजरायलको पक्षमा लबिइङ गर्न सदस्य राष्ट्रहरूलाई दबाब र प्रभाव देखाउन सक्ने विश्लेषण गरिएको छ ।

जी-७ बैठकमा अमेरिकासहित जापान, फ्रान्स, बेलायत, इटाली, जर्मनी र क्यानाडाका मन्त्रीहरू सहभागी हुँदैछन्‌ । यो पटकको बैठकमा पश्चिम एसियाका साथै युक्रेन संघर्षका साथै चीनसँगको सम्बन्धबारे पनि छलफल गर्न सदस्यहरू तयार छन् । यसअघि जी-७ ले चीनविरुद्ध अमेरिकी नेतृत्वमा आर्थिक मोर्चामा शत्रुता साँधिरहेको छ ।

हमासका लडाकूहरूले अक्टोबर ७ मा गाजापट्टीबाट इजराइलतर्फ गरेको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार चार सयको ज्यान गएपछि इजराइली सेनाले त्यसयता गाजामा निरन्तर बमबारी गर्दै आएको छ । इजराइलको हमलामा चार हजारभन्दा बढी बालबालिकासहित मर्नेहरूको सङ्ख्या गाजामा १० हजार नाघेको हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

संयुक्त राष्ट्रसङ्घसहित थुप्रै देशले दुवै पक्षलाई युद्धविरामका लागि आग्रह गरिरहेका छन् । इजराइलको प्रमुख सहयोगी अमेरिकाले ती आग्रहलाई समर्थन गरेको छैन । उसले इजराइललाई जवाफ दिने अधिकार भएकामा जोड दिएको छ । यद्यपि अमेरिकाले युद्ध रोक्न आह्वान गरेको छ । 

सोमबार टर्कीमा विदेशमन्त्री ब्लिङ्केनले युद्धमा फसेका नागरिकहरूको सहयोगका लागि वासिङ्टनले अत्यन्त आक्रामक तरिकाले काम गरिरहेको बताउनुभएको थियो । कुनै विवरण उल्लेख नगरी उनले भने, ‘आगामी दिनमा सहयोग उल्लेखनीयरूपमा बढ्न सक्छ भन्ने मलाई लागेको छ ।’

जी–७ मा रहेका अमेरिका, जापान, फ्रान्स, बेलायत, इटाली, जर्मनी र क्यानाडाका मन्त्रीहरू युक्रेन सङ्घर्षका साथै चीनसँगको सम्बन्धका बारेमा पनि विचारविमर्श गर्न तयार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस