aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

'रेयर अर्थ'को आपूर्तिमा चीनले गर्‍यो कडाइ, विश्वभरका ब्याट्री निर्माता समस्यामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ कार्तिक २०८०
'रेयर अर्थ'को आपूर्तिमा चीनले गर्‍यो कडाइ, विश्वभरका ब्याट्री निर्माता समस्यामा

चीनले हालै गरेको रेयर अर्थ इलिमेन्ट्स (पृथ्वीमा उपलब्ध दुर्लभ तत्वहरू) को आपूर्तिमा गरेको कडाइका कारण विश्वभर नै विद्युतीय सवारीसँग सम्बन्धित उद्योग समस्यामा पर्ने देखिएको छ । ऊर्जा क्षेत्रमा नै नयाँ परिवर्तनको तयारीमा विश्व रहेको बेला हरित ऊर्जासँग प्रत्यक्ष रूपमा जोडिएका यस्ता बस्तुको अभावले अमेरिका लगायत यी बस्तुमा चीनमा आश्रित मुलुकको उत्पादन क्षेत्र प्रभावित हुने भएका छन् ।

रेयर अर्थ धातुहरूको आपूर्तिमा चीनको लगभग एकाधिकार कायम रहेको  । तर, पटक-पटक चीनले यी धातु आपूर्तिमा गरेको कटौती र कडाइले धेरै मुलुकहरूलाई यसको उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेतर्फ बाध्य गराइरहेको छ ।

चीनले गरेको पछिल्लो निर्णय अनुसार त्यहाँबाट ग्राफाइड निकासीमा रोक लागेको छ । ग्राफाइड त्यस्तो धातु हो : जुन विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्री बनाउन अनिवार्य हुन्छ । ऊर्जासँग सम्बन्धित अन्य उद्योगमा समेत प्रयोग हुने सो धातुको अभाव हुँदा विश्वभर स्वच्छ ऊर्जा उत्पादनको क्षेत्र नै नराम्ररी प्रभावित हुने भएको हो ।

के हो ‘रेयर अर्थ’ ?

यो १७ दुर्लभ धातु तत्त्वहरूको समूह हो । पेरियोडिक तालिकामा ल्यान्थानाइड समूह अन्तर्गत रहेका १५ वटाका साथै स्क्यान्डियम र एटियम धातुहरू रेयर अर्थमा पर्दछन् ।

यसमा सीरियम (Ce), डिस्प्रोसियम (Dy), एर्बियम (Er), यूरोपियम (Eu), गैडोलिनियम (Gd), होल्मियम (Ho), लैंथेनम (La), ल्यूटेटियम (Lu), नियोडिमियम (Nd) प्रेजोडायमियम (Pr), प्रोमेथियम (Pm), समैरियम (Sm), स्कैंडियम (Sc), टेरबियम (Tb), थुलियम (Tm), येटरबियम (Yb) र इट्रियम (Y) लाई सामेल गरिएको छ । यी सबैको रासायनिक बुनोट र गुणहरू मिल्दाजुल्दा हुन्छन् ।

यी खनिजहरू यो समूहको नाममा रहेजस्तो दुर्लभ नै चाहिँ होइनन् । तर, पृथ्वीको भित्री सतहमा यिनीहरू छरिएर रहेका हुन्छन् र अन्य फलाम, सिसा जस्ता धातुहरू झैँ एकै ठाउँमा थुप्रिएको अवस्थामा भेट्न सकिँदैन ।

त्यसबाहेक यी धातुहरूको प्रशोधन समेत निकै जटिल छ । त्यसबाहेक यिनीहरूको प्रशोधनले पर्यावरणमा समेत ठूलो नकारात्मक असर गर्ने बताइन्छ ।

यिनमा अद्वितीय चुम्बकीय, प्रकाशशील र इलेक्ट्रोकेमिकल गुणहरू रहेका छन् । यसैले उपभोक्ताहरूद्वारा यसलाई इलेकट्रोनिक्स, कम्प्युटर र नेटवर्कहरू, सञ्चार, स्वास्थ्य सेवाका एमआरआई जस्ता मेसिन, सुरक्षा क्षेत्रका सामग्री आदि जस्ता धेरै आधुनिक प्रविधिहरूमा प्रयोग गरिन्छ ।

भविष्यका टेक्नोलोजीहरूलाई पनि यी तत्त्वहरू आवश्यक पर्दछ । जस्तै: उच्च तापक्रम सुपरकन्डक्टिविटी, हाइड्रो कार्बन अर्थतन्त्रको लागि हाइड्रोजनको सुरक्षित भण्डारण र ढुवानी, ग्लोबल वार्मिङ र ऊर्जा दक्षतासँग सम्बन्धित वातावरणीय समस्याहरू आदिमा यसको प्रयोग हुन्छ।

किन चीनले गर्दैछ निर्यातमा कडाइ ?

चीनले अहिले हरित ऊर्जामा ठूलो लगानी गरिरहेको छ । उ यो क्षेत्रमा सर्वाधिक धेरै लगानी गर्ने मुलुक पनि हो । यसै वर्षको सुरुमा ब्लुमबर्गले गरेको एक विश्लेषण अनुसार यस क्षेत्रमा विश्वभर भइरहेको लगानीमध्ये आधाभन्दा बढी चीन एक्लैले गरेको छ ।

नवीकरणीय ऊर्जामा चीन एक्लैले ५४६ अर्ब अमेरिकी डलर भन्दा बढी खर्च गरेको छ । जब कि अमेरिकाले जम्मा १४१ अर्ब डलरको मात्र लगानी गर्दा पूरै युरोपले १८० अर्ब डलर खर्चेको पाइएको थियो । चीनले यसरी खुलेर र कुनै सम्झौता बिना लगानी गरेको नवीकरणीय ऊर्जाको यो क्षेत्रमा अरूलाई साथ र सहयोग नगर्नुलाई स्वाभाविक नै मान्न सकिन्छ ।

चीनको एकाधिकार

रोयटर्सको एक रिपोर्टमा उल्लेख भएअनुसार  चीनसँग पृथ्वीमा उपलब्ध पूरै रेयर अर्थको ३४ प्रतिशत भण्डारण छ । यो मुलुकसँग ४४ मिलियन (४ करोड ४० लाख) टन रेयर अर्थ अक्साइड रहेको छ । सन् २०२२ मा चीनले संसारभर गरिएको रेयर अर्थ उत्खननको ७० प्रतिशत एक्लैले उत्खनन गरेको थियो । जसले गर्दा लगभग ८५ प्रतिशत उत्पादित बस्तुहरूमा चिनियाँ रेयर अर्थ नै प्रयोग भएको थियो ।

उल्लेखित उत्पादनले गर्दा पूरै विश्व आफ्नो हरित ऊर्जा र पर्यावरणीय लक्षमा पुग्न चीनसँग निर्भर हुनुपर्ने अवस्था बनेको छ । फोरेन पोलिसीमा हालै प्रकाशित एक रिपोर्ट अनुसार अमेरिकाले रेयर अर्थ उत्पादन र आपूर्तिको यो दौडमा आफुलाई कमजोर रहेको स्विकारी सकेको छ । त्यसैले अब यसको उत्पादनमा लगानी बढाउने योजनामा अमेरिका छ ।

कारमा लाग्ने ब्याट्रीको मूल्य बढ्ने

चीनले कच्चा पदार्थको निर्यातमा कसिलो नीति लिएसँगै लिथियम-आयन ब्याट्री बजारमा चिन्ता थपिएको छ । ब्याट्री निर्माता कम्पनीहरूले आवश्यक मात्रामा उत्पादन गर्न सक्ने अवस्था नहुँदा स्वाभाविक रूपमा ब्याट्रीको मूल्य बढ्ने भएको छ । त्यस बाहेक ब्याट्री निर्माताहरुले सम्भावित कच्चा पदार्थको अभावसँग सम्बन्धित चुनौतीहरूको सामना गर्दा इभी ब्याट्री महँगिने देखिएको छ।

कच्चा पदार्थको अभाव, रिफाइनरी क्षमता र भूराजनीतिक तनावले इभी ब्याट्रीहरूको लागि लिथियम, कोबाल्ट र निकल जस्ता सामग्रीको उपलब्धता र लागतलाई असर गर्ने देखिएको हो । रिसर्च फर्म ई- रिसोर्सको भर्खरैको विश्लेषण अनुसार ब्याट्रीको मूल्य सन् २०२३ र २०२६ को बीचमा २२ प्रतिशतले वृद्धि हुनेछ। यदि त्यस्तो भयो भने त्यो बेला प्रति किलोवाट-घण्टा यसको मूल्य १३८ अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस