aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

जी-७ बैठकमा रूसलाई १० लाख तोप दिएको उत्तर कोरियाको चर्चा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ कार्तिक २०८०
जी-७ बैठकमा रूसलाई १० लाख तोप दिएको उत्तर कोरियाको चर्चा

एजेन्सी । जापानमा जारी विश्वका साविक प्रमुख औद्योगिक राष्ट्रहरूको समूह जी-७ बैठकमा उत्तर कोरियाबारे चर्चा भएको छ । युक्रेन अतिक्रमण गरिरहेको रूसलाई १० लाख थान तोप दिएपपछि जी-७ बैठकमा उत्तर कोरियाको चर्चा र आलोचना भएको हो ।

जी–७ का विदेशमन्त्रीहरूले उत्तर कोरियाली हतियार रूसलाई हस्तान्तरण भएकामा ‘कडा निन्दा’ गरेको जापानले बुधबार बताएको छ । जापानको विदेश मन्त्रालयले एक विज्ञप्तिमा लेखेको छ, ‘उत्तर कोरियाको लगातारको ब्यालेस्टिक मिसाइल प्रक्षेपणका साथै उत्तर कोरियाबाट रूसलाई हतियार हस्तान्तरणप्रति जी–७ का विदेशमन्त्रीहरूले कडा निन्दा गर्नुभएको छ, यसले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रासङ्गिक प्रस्तावहरूको उल्लङ्घन गरेको छ ।’

युक्रेनसँगको युद्धमा प्रयोग गर्नका लागि उत्तर कोरियाले रूसलाई १० लाखभन्दा बढी तोप प्रदान गरेको र त्यसको बदलामा प्योङयाङले स्याटेलाइट प्रविधिमा सल्लाह लिइरहेको देखिएको सोलको जासुसी एजेन्सीलाई उद्धृत गर्दै दक्षिण कोरियाका एक सांसदले यसै महिनाको सुरुमा बताएका थिए ।

दुवै देशका नेताहरू किम जोङ उन र भ्लादिमिर पुटिनले सेप्टेम्बरमा रूसको सुदूर पूर्वमा एउटा उच्चस्तरको शिखर सम्मेलन आयोजना गरेका थिए । त्यसपछि प्योङयाङले मस्कोलाई हतियार प्रदान गर्न सुरु गरेको वासिङ्टनले दावी गरेको थियो ।

आक्रामक हुँदै गएको चीनसँग कसरी राम्रो तरिकाले संलग्न हुन सकिन्छ भन्नेबारे पनि जी–७ को बैठकमा चर्चा भएको थियो । ‘विश्वव्यापी चुनौतीहरूका साथै साझा चासोका क्षेत्रमा चीनसँग मिलेर काम गर्ने आवश्यक्तालाई स्वीकार गर्दै विदेशमन्त्रीहरूले चीनसँग स्पष्टरूपमा संलग्न हुने र हाम्रा चासोहरूलाई सिधै व्यक्त गर्ने महत्वलाई एक पटक पुनः पुष्टि गर्नुभएको छ’, जापानले भनेको छ ।

प्रतिक्रिया दिनुहोस