
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले जाजरकोट भूकम्पपीडितलाई लगिएको राहत आफूले नलुटेको दाबी गरेका छन् । केही सञ्चारमाध्यमले जाजरकोटका भूकम्पपीडितलाई उज्यालोका लागि पठाइएको सोलार प्यानल, खाद्यान्न र कपडाहरू माओवादी नेता शर्माको निर्देशनमा सल्यानको सल्लीबजारबाट रुकुम पश्चिम पुर्याइएको समाचार प्रकाशन गरिरहेका छन् ।
आफूले राहत नलुटेको दाबी गर्न पूर्वअर्थमन्त्री शर्माले आज रुकुम पश्चिममा पत्रकार सम्मेलन नै आयोजना गरे । त्यहाँ उनले भने, ‘एकता, सहकार्य अनुसार विपत्ति सामना गर्नुपर्छ, बाहिरबाट अनावश्यक रूपमा हमला गरी समाचारहरू प्रकाशन गर्दै बदनाम गर्न खोजिएको छ ।’
भूकम्पपीडित जाजरकोटका जनता पनि आफूहरूकै भएकाले आफूले राहत सामग्री बोकेको गाडी कब्जा गर्ने कुरा कल्पना बाहिरको रहेको शर्माले दाबी गरे । जाजरकोटमा माओवादी केन्द्रकै नेता शक्ति बस्नेत र रुकुम पश्चिममा आफूले भूकम्पपीडितको सहयोगार्थ काम गरिरहेको उनको भनाइ छ ।
‘कुनै संघसंस्थाले राहतबारे सोध्दा कहाँका लागि हो भनेर सोध्ने गरेको छु । रुकुमकै लागि हो भनेमात्र आउन भनेको छु,’ शर्माले थपे, ‘कुन गाडी कहाँबाट आयो भन्ने समेत मलाई थाहा छैन । सरकारबाट आएको राहत जिल्लाहरूमा बाँडफाँट गरेर नै वितरण भइरहेको हो ।’ उनले रुकुम पश्चिममा सोलार नभई खाद्यान्न लगायत सामग्रीको अभाव रहेको बताए ।
भूकम्पपीडितलाई एकद्वार प्रणालीबाटै राहत वितरण भइरहेको शर्माको दाबी छ ।
प्रतिक्रिया दिनुहोस