
एजेन्सी । युक्रेनसँग युद्धरत रूसले सामरिक बन्दोबस्तीका उपकरण र हतियार व्यवस्थापन थप बलियो बनाएको छ । पाकिस्तानसँग हेलिकोप्टर इञ्जिन फिर्ता माग्दै भारतलाई हतियार दिन बन्द गरेपछि रूसले सैन्य सामग्री भण्डारणमा नयाँ कदम चालेको विश्लेषण भएको हो ।
युद्धमा रहेका बेला आफ्नो स्थिति बलियो बनाइराख्न रूसले पाकिस्तान, मिस्र, ब्राजिल र बेलारूसलाई दिएका हवाई इञ्जिन फिर्ता मागेको छ । रूसले यी मुलुकलाई लडाकु र मालबाहक हेलिकोप्टरको इञ्जिन बिक्री गरेको थियो ।
युद्ध शुरु भएदेखि नै रूसले युक्रेनमा हेलिकोप्टरको प्रयोग अधिक गरिरहेको छ । युद्धको शुरुवाती दिनहरूमै युक्रेनले रूसका १०० भन्दा बढी हेलिकोप्टरहरू खसालिदिएको या नष्ट गरिदिएको थियो । युद्ध जारी रहेको तथा रोकिने छाँट नदेखिएकाले रूसले हाल हेलिकोप्टर इञ्जिन र पाटपूर्जा बनाउने काम तीव्र पारेको छ । साथै आफ्ना ग्राहक देशलाई बेचेको हेलकोप्टर र त्यसका पाटपूर्जा पनि माग्न थालेको छ ।
बीबीसीका अनुसार रूसले भारत र आर्मेनिया लगायत मुलुकलाई बेचेको हतियारको निर्यात पनि रोकेको छ । हतियारको दोस्रो ठूलो उत्पादक र बिक्रेता रूसले कयौं दशकको मेहनतपछि विश्व सामरिक कारोबारमा आफ्नो बलियो स्थान बनाएको थियो ।
तर युक्रेनविरुद्ध युद्ध छेडेपछि भने रूस आफ्नै लागि हतियार र सैन्य सामग्री व्यवस्थापन गर्न व्यस्त देखिन्छ । यो युद्ध तेस्रो वर्षमा लम्बिँदैछ र हतियारमा रूसको खर्च बढिरहेको छ ।
वालस्ट्रिट जर्नलका अनुसार रूसले पछिल्लो समय हतियार र पाटपूर्जा निर्माण तीव्र पारेको छ । तर, उत्पादन बढाउँदा पनि आवश्यकता पूरा गर्न सकिरहेको छैन । यस्तो अवस्थामा मस्कोले आफूले बेचेका हतियार पुनः खरिद गरिरहेको छ । जहाज, हेलिकोप्टर, मिसाइल र प्रतिरक्षा प्रणाली उपकरणसम्म रूसले आफ्नो भूमिमा फर्काइरहेको छ ।
यस वर्षमात्रै रूसले पाकिस्तान, बेलारूस र ब्राजिललाई बेचेको सैन्य र मालबाहक हेलिकोप्टरको इञ्जिन फिर्ता गर्नेबारे कुराकानी गरिसकेको छ । पाकिस्तानबाट मात्रै रूसले एमआई–३५ हेलिकोप्टरको कम्तिमा चारवटा इञ्जिन फिर्ता मागेको छ । पाकिस्तानी विदेश मन्त्रालयले भने यसबारे रूसले आफूसँग कुनै कुराकानी नगरेको प्रतिक्रिया दिएको छ ।
ब्राजिलसँग पनि रूसले एमआई–३५ हेलिकोप्टरकै १२ इञ्जिन मागेको थियो । ती हेलिकोप्टरहरूलाई ब्राजिलले गत वर्ष सेवाबाट हटाएको थियो . त्यहाँको विदेश मन्त्रालयले युद्धरत कुनै पनि पक्षलाई हतियार नदिने आफूहरूको नीति रहेकाले रूसको माग अस्वीकार गरिएको बताएको छ ।
यसैबीच रूसलाई उसको सबैभन्दा नजिकको छिमेकी बेलारूसले एमआई–२६ हेलिकोप्टरको ६ वटा इञ्जिन बेचेको छ । बेलारूसको विदेश मन्त्रालयले पनि यस मामिलामा के भएको हो भन्ने सार्वजनिक गरिसकेको छैन ।
हवाई युद्धका लागि आवश्यक उपकरणमात्र होइन, जमिनी लडाईंमा अत्यावश्यक हतियारको कारोबार समेत प्रभावित भएको छ । भारत र आर्मेनियालाई बिक्री गरिसकेको, तर पठाउन बाँकी हतियार समेत रूसले युक्रेनसँगको युद्धमा प्रयोग गरिरहेको छ ।
यसअघि आर्मेनियामा पठाउने सम्झौता गरेकै संख्यामा रूसले त्यहाँ मल्टिपल रकेट लञ्च सिस्टम पठाएको छैन । भारततर्फ पनि उसले यसअघि नै सम्झौता गरेका कयौं हतियार र सैन्य सामग्री निर्यात रद्द गरिदिएको छ ।
यतिखेर रूसले आफ्ना फ्याक्ट्रीमा बन्ने हतियार र पाटपूर्जा आफ्नै लागि सञ्चित गर्न थालेको छ । भारत र म्यानमारलाई बेच्न सम्झौता भएको ट्यांक र मिसाइल पनि रूस आफैंले राखेको छ । खरिदबापत उसले ती देशलाई रकम फिर्ता दिएको छ ।
यसअघि भारतले २ अर्ब रुपैयाँ नतिरेका कारण रूसले पाटपूर्जा र एस–४०० मिसाइल प्रतिरक्षा प्रणाली निर्यात रोकिदिएको खबर बाहिरिएको थियो । रूस भारतको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता हो । तर, सन् २०१७ देखि २०२२ सम्मको अवधिमा भारतीय रक्षा आयातमा रूसको हिस्सेदारी ६२ बाट ४५ प्रतिशतमा झरेको छ ।
स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्युटका अनुसार युक्रेन आक्रमणका कारण हतियार निर्यातमा देखिएको समस्याका कारण भारत आफैंले उत्पादन बढाउँदा त्यहाँको रक्षा आयातमा रूसको भूमिका खुम्चिएको हो ।
यसबीच रूसले मिस्र (इजिप्ट) का राष्ट्रपति अब्देल फतह अल सिसीसँग पनि १०० भन्दा बढी हेलिकोप्टर फिर्ता मागेको थियो । सन् २०१४ देखि इजिप्ट रूसको महत्वपूर्ण हतियार ग्राहक रहीआएको छ ।
इजिप्टले रूससँग हेलिकोप्टर, लडाकु विमान र हवाई प्रतिरक्षा प्रणाली खरिद गर्न अर्बाैं डलर बराबरको सम्झौता गरेको छ । तर, अमेरिकी प्रतिबन्धका कारण गत मार्चमा इजिप्टले यी मध्ये कयौं सम्झौताबाट हात झिकेको थियो ।
कायरोले मस्कोलाई यसअघि आफूसँग रहेको युद्धमा प्रयोग हुने रकेट नै पठाउने योजना बनाएको थियो । अमेरिकी दबाबपछि सो योजनाबाट पछि हटेको इजिप्टलाई रूसले आफूबाट खरिद गरेको एमआई–८ र एमआई–१७ हेलिकोप्टरको इञ्जिन फिर्ता पठाउन भनेको थियो । यसबापत रूसले इजिप्टतर्फ गहुँ निर्यात जारी राख्ने आश्वासन दिएको थियो ।
हेलिकोप्टरको इञ्जिन फिर्ता नगरेमा चाहिँ इजिप्टमा रहेका आफ्ना हतियार विशेषज्ञ र सल्लाहकारलाई नै फिर्ता बोलाउने चेतावनी दिएको थियो ।
प्रतिक्रिया दिनुहोस