एजेन्सी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले तयारी पोशाक (गार्मेन्ट) श्रमिकको तलब बढाउन अस्वीकार गरेकी छिन् । यस्ता उद्योगहरूमा चरम श्रम शोषण भएको भन्दै आयातकर्ता विकसित मुलुकमा समाचार फैलिरहँदा हसिनाको निर्णयले बंगलादेशी तयारी पोशाक निर्यातमै अवरोध हुनसक्ने देखिएको छ ।
त्यहाँका श्रमिकहरूले तलब वृद्धि माग राख्दै दिनहुँ प्रदर्शन गरिरहेका थिए । प्रदर्शन क्रममा पछिल्ला दिनमा प्रहरीसँग हिंसात्मक झडप र कारखानामा तोडफोडपछि श्रमिकका मागप्रति सरकार चिढिएको छ । श्रमिकहरूले करिब तीन गुणा पारिश्रमिक वृद्धिको माग गरेर प्रदर्शन गरिरहेका छन् । स्थिति तनावग्रस्त बन्दै गएपछि कुनै पनि थप पारिश्रमिक वृद्धिलाई धानमन्त्री हसिनाले खारेज गरेकी हुन् ।
सरकारले नियुक्त गरेको एक प्यानलले मङ्गलबार तयारी पोशाक कारखानाका श्रमिकका लागि पारिश्रमिकमा ५६ दशमलव २५ प्रतिशतले बढाएर १२ हजार पाँच सय टाका (एक सय १३ अमेरिकी डलर) बनाएका थियो । श्रमिकहरूले भने न्यूनतम पारिश्रमिक २३ हजार टाका हुनुपर्ने माग गरिरहेका छन् ।
बंगलादेशको तीन हजार पाँच सय तयारी पोशाक कारखानाले मुलुकको ५५ अर्ब अमेरिकी डलरको वार्षिक निर्यातमा करिब ८५ प्रतिशत योगदान गर्दछन् । यी कारखानाले लेभी, जारा र एच एन्ड एमलगायत विश्वका थुप्रै शीर्ष ब्रान्डहरूलाई तयारी पोशाक आपूर्ति गर्दछन् । यो क्षेत्रका ४० लाख श्रमिकमध्ये धेरैको स्थिति दयनीय छ । यिनीहरूमा अधिकांश महिला छन् र उनीहरूको मासिक पारिश्रमिक आठ हजार तीन सय टाका (७५ अमेरिकी डलर) बाट सुरु हुन्छ ।
‘तयारी पोशाक श्रमिकहरूलाई म भन्न चाहन्छु– जति पारिश्रमिक बढाइएको छ त्यसैमा काम गर्नुपर्छ, गरिरहनु पर्छ’, उनले आफ्नो सत्ताधारी अवामी लिग पार्टीको बैठकमा बिहीबार भन्नुभयो, ‘कसैको उक्साहटमा विरोध गर्नका लागि सडकमा उत्रिन्छन् भने उनीहरूले आफ्नो जागिर गुमाउने छन्, आफ्नो काम गुमाउने छन् र उनीहरूले आफ्नो गाउँ फर्कनु पर्नेछ, यदि कारखाना बन्द भयो र उत्पादनमा अवरोध भयो, निर्यात अवरुद्ध भयो भने उनीहरूको नोकरी के हुन्छ रु यो कुरा उनीहरूले बुझ्नु पर्छ ।’
पारिश्रमिक प्यानलको प्रस्ताव अस्वीकार गर्नका लागि २५ हजारभन्दा बढी श्रमिकले कारखाना र राजमार्गहरूमा विरोध प्रदर्शन गरेपछि प्रहरीले बिहीबार राजधानी ढाकाबाहिरको प्रमुख औद्योगिक सहर गाजिपुर र अशुलियामा हिंसा भएको बताएको छ । प्रहरीका अनुसार आन्दोलनबाट गत सातायता कम्तीमा तीन श्रमिकको मृत्यु भएको छ भने ७० कारखानामा तोडफोड भएको छ ।
युनियनहरूले प्यानलको पारिश्रमिक वृद्धि खाना, घरभाडा र छोराछोरीको शिक्षा तथा हेरचाहको बढ्दो मूल्यअनुसार नभएको बताएका छन् ।
प्रधानमन्त्री हसिनाले निजामति कर्मचारीलाई भन्दा राम्रो प्रस्ताव श्रमिकहरूलाई गरिएको बताइन् । उनले भनिन्, ‘सम्पूर्ण विश्वमा मुद्रास्फीति रहेकाले सरकारी कर्मचारीहरूलाई पाँच प्रतिशतले तलब वृद्धि गरिएको छ तर तयारी पोशाक श्रमिकका लागि ५६ प्रतिशतले वृद्धि हुनेछ ।’
प्रतिक्रिया दिनुहोस