काठमाडौं । सरकारले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन यो वर्ष १३ वटा सुरुङमार्ग र अन्डरपासको सम्भाव्यता अध्ययन गर्ने भएको छ। तीमध्ये सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ भने ५ वटाको बाँकी छ। नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु हुने क्रममा छ।
'भौतिक पूर्वाधार तथा योजना मन्त्रालयको वार्षिक कार्यक्रममा चालु आर्थिक वर्ष १२ सुरुङमार्गको अध्ययन गर्ने उल्लेख छ। सुरुङमार्ग विकास कार्यक्रमअन्तर्गत पूर्वसम्भाव्यता अध्ययनका लागि ५९ करोड रुपैयाँ खर्च छट्टयाइएको छ । केन्द्रीय सडक सञ्जाललाई छोटो, सजिलो, फराकिलो र
सुरक्षित बनाउन अग्ला पुल वा सुरुङ निर्माण गर्नुपर्छ,’ सडक विभागका महानिर्देशक केशवकुमार शर्माले भने, ‘अबको दशक सुरुङमार्ग अध्ययन र निर्माणमा जोड दिने सोचाइमा छौं।’
प्रस्तावित १३ सुरुङमार्ग
१.बुटवल–सिद्धबाबा
२. टोखा–छहरे–गुर्जे भन्ज्याङ
३. कोटेश्वर–जडीबुटी
४.खुर्कोट–चियावारी (सिन्धुली)
५.कैलाली खुटिया–बीपीनगर–दियायल खण्ड
६.थानकोट–चित्लाङ
७.गोदावरी (ललितपुर)–मानेचौर (काभ्रे)
८. नयाँ बनेश्वरमा अन्डरपास
९. कुलेखानी–भीमफेदी
१०. हेम्जा–नयाँपुल (पोखरा–बागलुङ सडक)
११. दोलखाको लामाबजर
१२. बुटबल–नारायणगढको दाउन्ने खण्ड
१३.बेत्रावती–घट्टेखोला (स्याफ्रुबेसी)
राजधानीबाट बाहिरिने प्रमुख नाका नागढुंगाबाट सिस्नेखोलासम्म बनाइने सुरुङमार्गको अर्को साता (कात्तिक ४ गते) शिलान्यास हुँदै छ । नागढुंगा सुरुङमार्ग आयोजनाका अनुसार मंसिररपुस बाट यो सुरुङमार्गको निर्माण थालिनेछ । सुरुङमार्ग २.७० किमि र त्यसका लागि सडक २.८० गरी साढे ५ किमिको काम हुने आयोजना प्रमुख श्यामप्रसाद खरेलले जानकारी दिए । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस