
क्यालिफोर्नियाको फिलोली इस्टेटस्थित हायात रिजेन्सी होटलमा एलन मक्स, टिम कुक लगायतका एसिया-प्रशान्त क्षेत्रका सबैजसो ठूला व्यापारीसँगै बसेर प्रतिव्यक्ति २ हजारदेखि ४० हजार डलरसम्मको डिनर गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङबीच १५ नोभेम्बरमा भएको संवादको चर्चा अझै सकिएको छैन । त्यसको प्रमुख कारण के हो भने यो बहुप्रतिक्षित भेटले यी दुई मुलुकबीचको द्वन्द्व कम गर्यो भने आर्थिक संकटको सम्मुखमा रहेको विश्वले राहत पाउला कि भन्ने आशा थियो । जुन पूरा भएको देखिएन ।
बरु, भेट लगत्तै अमेरिकी राष्ट्रपतिले सी लाई फेरी ‘तानाशाह’ भनेका छन् । गएको जुन महिनामा बाइडेनले सीलाई तानाशाहको संज्ञा दिएका थिए ।भेटपछि अघिल्लो अभिव्यक्तिबारे पत्रकारहरूले बाइडेनलाई सोधेका थिए । जवाफमा बाइडेनले सी तानाशाह नै रहेको दोहोर्याएका हुन् । उता पत्रकारले सीलाई ‘के तपाईं बाइडेन लाई विश्वास गर्न सक्नुहुन्छ ?’ भन्दै सोधेको प्रश्नको जवाफ नै नदिई सी फिस्स हाँसेका मात्र थिए । यी घटना र अभिव्यक्तिले गरेको संकेत पनि यहि हो कि वार्ताबाट ठोस उपलब्धि नभएको निष्कर्षमा दुवै नेताहरू नै पुगेका छन् ।
एसिया–प्रशान्त आर्थिक सहयोग सम्मेलनका क्रममा यी दुई प्रमुख आर्थिक महाशक्तिका शीर्ष नेताहरूले सो अवसरलाई आफ्नो मुलुकको स्वार्थ पूर्तिमा त केन्द्रित गरे तर विश्व नेताको रूपमा निर्णयमा पुगेनन्, जसले संसारभर खुसीको सञ्चार गर्न सकोस् । आफूलाई ग्लोबल साउथको नेताको रूपमा स्थापित गरेका चिनियाँ राष्ट्रपति सी र कथित रूपमा आफू स्वतन्त्र विश्वको सर्वोच्च नेता रहेको दाबी गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको भेटवार्तामा न त उनीहरूबीच ताइवानमा बढेको संकट कसरी कम गर्ने भन्ने नै समझदारी भयो न बढ्दो व्यापार द्वन्द्व कम गर्ने कुनै निर्णयमा नै पुगे ।
बरु, पुरानै शैलीमा आफू एक चीन नीतिमा दृढ रहेको बताउँदै बाइडेनले ताइवानमा आगामी वर्ष हुने निर्वाचनमा हस्तक्षेप नगर्न सी लाई चेतावनी दिए । उता सी ले अहिले नै ताइवानमा आक्रमण गरिहाल्ने योजना नरहेको जानकारी दिँदै त्यहाँ भइरहेको आफ्नो सैन्य गतिविधि भने नरोक्ने संकेत गरे । समग्रमा भन्दा दक्षिण चीन सागरमा रहेको तनाव कम गर्न यो भेटले थोरै पनि काम गरेन ।
हाल चीनले इरानबाट खरिद गर्दै आएको खनिज तेल किन्न बन्द गरोस् भन्ने अनेरिकी चाहना पनि यो भेटमा पूरा हुन सकेन । उता चिनियाँ मोडलको समाजवादी अर्थनीतिलाई अमेरिकाले मान्यता देओस् भन्ने चिनियाँ इच्छा पूर्तिमा मा पनि ठोस उपलब्धी हासिल हुन सकेन ।
बस्, यो भेटको एउटै उपलब्धि के रह्यो भने आकस्मिक रूपमा कुन बेला चीन र अमेरिका पनि आमने सामने भिड्ने हुन् कि भन्ने चिन्ता भने कम भएको छ । दुवै मुलुकका सेनाबीचको सञ्चार सम्बन्धलाई बलियो राख्ने र हटलाइनमा दुवै मुलुक बस्ने भन्ने कुरामा सहमति भएको छ ।
बरु, आफ्नो मुलुकमा थप लगानी गर्न र अहिलेको लगानी फिर्ता गर्ने सोचबाट पछि हट्न चिनियाँ राष्ट्रपतिले पश्चिमी उद्योगपति र धनाढ्यहरूलाई भेटेरै आग्रह गर्न पाएका छन् । जसले गर्दा व्यापार र आर्थिक विकासलाई केन्द्रमा राखेर अघि बढिरहेको चीनलाई निकै ठूलो लाभ मिल्न सक्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस