aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भोजपुरका किसानको मुख्य समस्या बन्यो बाँदर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ मंसिर २०८०
भोजपुरका किसानको मुख्य समस्या बन्यो बाँदर

भोजपुर । भोजपुरका किसानको मुख्य समस्या नै बाँदर बनेको छ । मल, बीउबिजनभन्दा पनि तत्कालको मुख्य समस्या बाँदर बनेको हो । बाँदरका कारण किसानले उत्पादनयोग्य जमिन बाँझो छाडेका छन् । बाली लगाए पनि बाँदरबाट बचाउन समस्या भएपछि जमिन बाँझो छाड्न बाध्य भएको किसानको भनाइ छ । 

वैकल्पिक बाली लगाउँदासमेत बाँदरले हैरान पारेपछि जमिन बाँझो छाड्न बाध्य भएको रामप्रसादराई गाउँपालिकाका दीपकुमार मगरले बताए । मल, बीउबिजनभन्दा ठूलो समस्या बाँदर बनेको उनको भनाइ छ । “हामी किसानको मुख्य समस्या नै बाँदर बनेको छ”, उनले भने, “बाँदर प्रभावित क्षेत्रमा मल बीउभन्दा ठूलो समस्या यही हो । एक घण्टामात्र बाँदर बालीमा पस्यो भने वर्षभरि खाने अन्न सखाप पार्छ । त्यही भएर जमिन बाँझो छाड्नु हाम्रो बाध्यता बनेको छ ।”

पछिल्लो समयमा बाँदर अटेरी बन्दै गएपछि धपाउन झन् समस्या भएको  बोखिमका  किसान गङ्गा प्रधानले बताए । बाँदरको उप्रदोका कारण खेतबारीमा लगाएको बाली समय नै नपुगी उठाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । “बाँदरले खेतबारी अन्न पाक्न दिँदैन”, उनले भने, “जो–कोहीले बारीमा आएका बाँदर धपाउन सकिने अवस्था छैन । सदादिन युवाले हेरचाह गरेर पनि सम्भव छैन । वृद्धवृद्धा, महिला तथा केटाकेटीलाई बाँदरले टेर्दैन । बाँदरको डरले अन्नबालीलाई समय नपुग्दै उठाउनुपर्ने अवस्था छ ।”

बाँदरले बास्तिम, दलगाउँ, मानेभञ्याङ, खावा, कोट, गोगने, लेखर्क, बोखिम, धोद्लेखानीलगायत ठाउँमा बढी मात्रामा दुःख दिने गरेको छ । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका स्थानीयवासीको भनाइ छ । बाँदरले बस्तीमा पसेर दुुःख दिन थालेपछि बस्ती नै खाली हुने अवस्था आएको स्थानीय टेकबहादुर तामाङले बताए । अन्नबाली जोगाउन समस्या भएपछि बाध्य भएर बस्ती छाड्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ । बाँदरका कारण ग्रामीण क्षेत्रमा बसाइँसराइको दर बढेको उनले जानकारी दिए ।

“बाँदरका कारण बस्ती नै खाली हुने अवस्था छ”, स्थानीय तामाङले भने, “वर्षभरि खानका लागि लगाएको अन्नबाली छिनभरमा नष्ट पार्छ । बारीमा कटेरा बनाएर हेरचाह गर्दा पनि सम्भव हुँदैन । बाँदरको हेरचाह गर्नुभन्दा खेतबारी बाँझो छाडेर बस्ती छाड्ने बढेका छन् ।” बाँदर मकैको थाङ्ग्रा, धानको कुनिउ, बगैँचाका फलफूलमा आउन थालेपछि स्थानीय समस्यामा परेका हुन् । बाँदर हेरचाह गर्नका लागि  दुईदेखि तीनजनाको काम नै त्यही हुने गरेको स्थानीयको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस