aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

अर्बौंको पूर्वाधार अलपत्र पारेका ठेकेदार रौनियार एमाले प्रवेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ मंसिर २०८०
अर्बौंको पूर्वाधार अलपत्र पारेका ठेकेदार रौनियार एमाले प्रवेश

काठमाडौं । निर्माण क्षेत्रमा बदनाम पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियार ‘पप्पु’ नेकपा (एमाले) मा प्रवेश गरेका छन्‌ । एमाले अध्यक्ष केपी शर्मा ओलीले रौनियारलाई पर्साको पोखरियामा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराएका हुन्‌ ।

एमाले प्रवेश गर्नुअघि रौनियार जनता समाजवादी नेपाल (जसपा)का केन्द्रीय सदस्य थिए । २०७४ मा भएको चुनावमा उनी तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट पर्सा-३ को संघीय सांसद्‌ निर्वाचित भएका थिए ।

तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ असोजमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बित भएका थिए । दुई करोड रुपैयाँ धरौटी बुझाएर उनी सोही वर्ष फागुनमा रिहा भएका थिए ।

रौनियारलाई पार्टीमा भित्र्याउन एमालेले निकै अघिदेखि तयारी थालेको थियो । आज पर्सामा भएको कार्यक्रमलाई सम्बोधन गर्न पार्टी अध्यक्ष ओली नै जाने भन्दै एमालेले यसअघि नै प्रचार गरेको थियो ।

निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनमार्फत सरकारी अधिकारीहरूसँग मिलेमतो गरी अर्बौं रुपैयाँ बराबरको पूर्वाधार निर्माणका ठेक्का लिएका रौनियारले अधिकांश काम अलपत्र पारेका छन्‌ । विशेषगरी सडकका पूल निर्माणको ठेक्का हात पार्ने र मोबिलाइजेशन पेश्की लिएपछि कामै नगर्ने प्रवृतिका कारण पप्पु कन्स्ट्रक्सन बदनाम छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले रौनियारको निर्माण कम्पनीलाई पटकपटक कालोसूचीमा राख्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस