aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

‘अर्थतन्त्र सुधार गर्न गम्भीर गृहकार्य थालें’ : प्रधानमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ मंसिर २०८०
‘अर्थतन्त्र सुधार गर्न गम्भीर गृहकार्य थालें’ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रमा परेको दबाब अन्त्य गर्न आफूले गम्भीर गृहकार्य थालेको दाबी गरेका छन्‌ । आज (मंगलबार) सिंहदरबारमा निजी क्षेत्रसँग अर्थतन्त्रबारे भइरहेको छलफल क्रममा दाहालले अर्थतन्त्र सुधार्न आफू गम्भीर भएको जनाएका हुन्‌ ।

‘सरकारको अथक प्रयासका कारण अर्थतन्त्रमा सुधार आए पनि दवावमुक्त भइसकेको छैन। अर्थतन्त्रको दवावलाई अन्त्य गर्न मैले हिजोदेखि गम्भीर गृहकार्य थालेको छु,’ सिंहदरबारमा छलफल चल्दै गर्दा दाहालले फेसबुकमा लेखेका छन्‌, ‘कोभिड महामारी, विश्वव्यापी ध्रुवीकरण र द्वन्द्व, हाम्रो आफ्नै संरचनागत प्रणाली, क्षमता र कार्यसम्पादन आदि कारणले राष्ट्रिय अर्थतन्त्रले दवावको महसुस गरिरहेको छ ।’

आफूले सरकारको नेतृत्व लिँदादेखि नै अर्थतन्त्र संकटमा रहेको दाहालको दाबी छ । यो समस्या समाधान गर्न संविधानमा व्यवस्था भएबमोजिम साझेदारीको मोडेललाई परिणाममुखी बनाउन सरकार र निजी क्षेत्रबीच सघन सहकार्य र एकता आवश्यक रहेको दाहालले तर्क गरेका छन्‌ ।

दाहालले लेखेका छन्, ‘निजी व्यावसायिक क्षेत्र सरकारको सहयोगी क्षेत्र हो। सरकारको नीति, नियम र संविधान तथा कानुनको दायरामा रही निजी व्यवसाय गर्ने व्यवसायीलाई आर्थिक विकासको हिस्सेदार पक्ष मानेर अघि बढ्नु नै पर्दछ ।’

नेपालको संविधानमा निजी–सहकारी–साझेदारीको तीनखम्बे अर्थनीतिको व्यवस्था गरिएकाले सोही व्यवस्था अनुसार साझेदारी मोडेललाई परिणाममुखी बनाउन सरकार र निजी क्षेत्रबीच सघन सहकार्य र एकता आवश्यक रहेको दाहालले उल्लेख गरेका छन्‌ ।

अर्थतन्त्रका आन्तरिक क्षेत्र समस्याग्रस्त हुँदै गएपछि यतिखेर सरकारको चरम आलोचना भइरहेको छ । आर्थिक अवस्था संकटोन्मुख भएपछि प्रधानमन्त्रीले हिजो (सोमबार) बेलुकी छलफल थालेका थिए । सरकारको वित्त र मौद्रिक नीति तथा आर्थिक आचरणका कारण नागरिकमा आर्थिक गतिविधिप्रति निरुत्साह बढ्न थालेपछि सरकार यतिखेर दबाबमा छ ।

अहिले भइरहेको छलफलमा प्रधानमन्त्री दाहाल, सबै उपप्रधानमन्त्री, अर्थमन्त्री डा. प्रकाशशरण महत, गभर्नर महाप्रसाद अधिकारी, केही अर्थविद्‌हरू एवम्‌ निजी क्षेत्रका छाता संस्थाका प्रतिनिधिहरू उपस्थित छन्‌ ।

प्रतिक्रिया दिनुहोस