aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भैरहवा विमानस्थल सञ्चालनको वातावरण बनाउन चेम्बरको माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ मंसिर २०८०
भैरहवा विमानस्थल सञ्चालनको वातावरण बनाउन चेम्बरको माग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भैरहवा अन्तराष्ट्रिय विमानस्थललाई पुर्ण क्षमतामा सञ्चालनमा ल्याउन सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । रुपन्देहीको भैरहवामा आज देखि शुरु छैटौं लुम्विनी प्रादेशिक महोत्सवलाई सम्वोधन गर्दै अध्यक्ष मल्लले विमानस्थल सञ्चालनमा आउन नसक्दा निजी क्षेत्रको अर्वौ रुपैयाँ लगानी जोखिममा परेको बताएका हुन् । 

उनले भने, ‘विमानस्थल निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन सकेको छैन, अहिले निजी क्षेत्रको मात्र हैन सरकारकै लगानी पनि जोखिममा परेको छ ।’ विमानस्थल सञ्चालनसंगै गौतमवुद्ध जन्मस्थल लुम्विनीलाई अन्तराष्ट्रिय पर्यटकको आर्कषण केन्द्र बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।

उनले भने, ‘विमानस्थल बनेपछि व्यवसायिक गतिविधी बढ्ला भनेर आसपासमा करोडौं रुपैयाँ लगानी गरेकाहरुको लगानी जोखिममा परेको छ । यतातर्फ सरकार र सम्वन्धित सवै निकायको ध्यान जान जरुरी छ, ।’  अर्को प्रसंगमा अध्यक्ष मल्लले सार्वजनिक निजी साझेदारी मार्फत भैरहवा सेजलाई सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए ।

भैरहवा सेजमा उद्यमी व्यवसायिको सहभागिता गराउनका लागि विभिन्न नीतिगत समस्याहरु रहेको उनको भनाई छ । यद्यपी भैरहवा सेजमा साना तथा मझौला उद्यमी एवं घरेलु उत्पादनहरुको प्रर्वद्धन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । मुलुककै सवैभन्दा धेरै राजश्व संकलन गर्ने भन्सार नाका मध्ये रुपन्देही पनि एउटा भएको भन्दै उनले खुला सीमाको फाईदा उठाएर हुने अवैध व्यापारलाई भने नियन्त्रण गर्नुपर्ने बताए । 
 

प्रतिक्रिया दिनुहोस