aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कंक्रिट मचान बनाउने अनुमति पाएकाहरूले बनाए विशाल होटल, १२ जनाविरुद्ध मुद्दा दायर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ मंसिर २०८०
कंक्रिट मचान बनाउने अनुमति पाएकाहरूले बनाए विशाल होटल, १२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । आयोगले सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा चितवनको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मासहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।  

अख्तियारका अनुसार चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले कुमरोज सामुदायिक वन उपभोक्ता समूहलाई निकुञ्जको कोर ईलाकामा १६ कोठाको लजसहितको भ्यू टावरको निर्माण गर्न सहमति दिएको भन्ने उजुरी आयोगमा परेको थियो । यसमा अनुसन्धान हुँदा कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिले पर्यापर्यटनको विकास एवं विस्तारका लागि खैरहनी नगरपालिकाबाट विनियोजन भएको बजेट र समूहको आन्तरिक कोषबाट मध्यवर्ती सामुदायिक वन क्षेत्रमा कंक्रिट मचान निर्माण गर्ने भनी निकुञ्जको सौराहा सेक्टरबाट अनुमति प्राप्त गरेको थियो ।   

सो अनुमति र ऐन, नियम विपरीत निकुञ्जको कोर एरियामा कंक्रिट मचानभन्दा भिन्न लज होटलको स्वरूप र आकारको १८ कोठे ५ तल्ले विशाल भवन निर्माण गरेको पाइएको छ । अन्य प्रयोजनका लागि निःशुल्क काठ काटी ढुवानी निकासी गरी लैजान अनुमति लिई सो को दुरुपयोग गरी उक्त भवनमा समेत काठ प्रयोग गरेको पाइएको छ । साथै बुढी राप्ति उपभोक्ता समितिले कोर एरियामा वनेको उक्त भवनमा रकम खर्च गरेको र खैरहनी नगरपालिकाले अनुमति लिनु भन्दा अगाडि नै उपभोक्ता समितिसँग सम्झौता गरी निकुञ्जसँग समन्वय नगरी मध्यवर्ती क्षेत्र हो वा होइन समेत यकिन नगरी निर्माण कार्यको सर्भे, नक्सा र लागत अनुमान तयार एवं स्वीकृत गरी निर्माण कार्य अगाडि बढाएको पाइएको छ । 

सौराहा सेक्टरले आफूले प्रदान गरेको अनुमति र सर्त विपरीत कोर एरियामा विशाल भवन निर्माण भएको छ । सो भवन निर्माणको समयमै अनुगमन गरी रोक्का नगरेको कारणबाट कोर एरियामा निर्मित उक्त भवन प्रयोगविहीन भई भवन निर्माणमा लगानी भएको रकम औचित्यहीन भएको छ ।  

यस कार्यमा संलग्न चितवन राष्ट्रिय निकुञ्ज सौराहाका तत्कालीन सहायक अधिकृत अभिनय पाठकविरुद्ध ३१ लख ५९ हजार ७३५ रुपैयाँ बिगोमा माग गर्दै मुद्दा दायर गरिएको छ । साथै, खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, इन्जिनियर राजेश कोइराला र सवइन्जिनियर सुमन श्रेष्ठविरुद्ध ३१ लख ५९ हजार ७३५ रुपैयाँ बिगोसहित मुद्दा दायर गरिएको छ । 

त्यस्तै, कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह र कंक्रिट मचान निर्माण उपभोक्ता समितिको वन उपभोक्ता समूह र कंक्रिट मचान निर्माण समितिका तत्कालीन अध्यक्ष हिरा बहादुर गुरुङविरुद्ध एक करोड १९ लाख ५ हजार ६०३ रुपैयाँ, कोषाध्यक्ष शम्भु जिसी भनिने समर बहादुर घर्तीविरुद्ध ८९ लाख २ हजार ६६५ रुपैयाँ र कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गणेशकुमार श्रेष्ठ र कोषाध्यक्ष उज्ज्वल बर्तौलाविरुद्ध १३ लाख ३१ हजार २१७ रुपैयाँ बिगो कायम गरि मुद्दा दायर गरिएको छ । 

त्यसैगरि, बुढी राप्ति उपभोक्ता समितिका अध्यक्ष नारायण दत्त तिमिल्सिना र कोषाध्यक्ष सोमराज कडरियाविरुद्ध पनि मुद्दा दायर गरिएको छ । उनीहरूसँग ७८ हजार बिगो माग गरिएको छ । यस अभियोगमा कंक्रिट मचान निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष ठण्डन कुमारी दाहाल र सचिव कल्याण लटौलाको पनि संलग्नता देखिएको छ । उनीहरुविरुद्ध ३५ लाख ५० हजार ९५२ रुपैयाँ बिगो कायम गरि मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको छ ।     

 

प्रतिक्रिया दिनुहोस