aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

‘प्रतिस्थापन बजेट भौतिक र मानव विकासमा केन्द्रित‘ : मुख्यमन्त्री कार्की

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० मंसिर २०८०
‘प्रतिस्थापन बजेट भौतिक र मानव विकासमा केन्द्रित‘ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभामा पेस भएको प्रतिस्थापन बजेट विधेयक लोककल्याणकारी हुने बताएका छन्‌ । विधेयकका सम्बन्धमा आर्थिक मामिला तथा योजना मन्त्रालयको सभाहलमा आज आयोजित पत्रकार भेटघाटमा उनले विशेष परिस्थितिमा नयाँ बजेट आएको दाबी गरेका हुन्‌ ।

जनताका घरदैलोसम्म पुर्याउने लक्ष्यका साथ योजना र बजेटको व्यवस्था गरेको जनाउँदै मुख्यमन्त्री कार्कीले भने, ‘प्रदेशमा १० वर्षमुनिका बालबालिकाको उपचार बजेट पारित भएकै दिनदेखि निःशुल्क उपचार हुन्छ ।’

उनले सांस्कृतिक एकता र सद्भावलाई ध्यानमा राखी ल्याएको यो बजेटले सुनसरी र इनरुवा सडकको स्तरोन्नति गर्ने, केशल्या करिडोरलाई व्यवस्थित गर्ने जनाउँदै बजेट भौतिक र मानव विकासमा केन्द्रित छ भने ।

उनले शैलेजा हृदय केन्द्र अस्पताल निर्माण र महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्ने बजेटको विशेषता रहेको उल्लेख गर्दै प्रदेशको राजधानी आउनसम्मका सबै बाटोलाई व्यवस्थित गर्ने दाबी गरे ।

मुख्यमन्त्री कार्कीले विराटनगरको रानीबाट सुनसरीको दुहबीसम्म ‘बाइपास’ बाटो निर्माण गर्ने जनाउँदै राजस्व बढाउन लोक कल्याणकारीका योजना सञ्चालन हुने बताए । 

उनले बजेट अध्यादेशबाट आए पनि सबैको मन छुने गरी ल्याएको र यसले आम नागरिकको आवश्यकता र चाहनालाई पूरा गर्ने दाबी गरे । उनले भने‘बजेट पूर्णरूपमा कार्यान्वयन हुन्छ ।’ रासस

प्रतिक्रिया दिनुहोस