
काठमाडौँ । नयाँ नेपाली वेब सिरिज 'सानो संसार' कार्तिक २४ गतदेखि युट्युबमा सार्वजनिक भएको । 'टुनामुना प्रोड्क्सन' को युट्युब च्यानलबाट प्रसारण भइरहेको पछिल्लो भिडियो सिद्धार्थ पुडासैनीको निर्देशनमा तयार भएको हो ।
'सानो संसार’ एउटा मध्यम वर्गीय परिवारमा आउने दैनिक उतारचढाव, सुख, दुख र तिता मीठा कथाहरूको सँगालो हो। सरिस्मा खत्रीको संवाद र सिद्धार्थ पुडासैनीको कथा रहेको उक्त सिरिजमा कुल ७ वटा भाग रहेका छन् ।
रिलिज भइसकेका अघिल्ला दुई भागले दर्शकको अपार माया र सकारात्मक साथ पाइरहेको निर्माताको दाबी छ । सानो संसारको कथा, पटकथा र संवादको साथै छायाङ्कन, रङ्ग, अभिनय र निर्देशनको पनि दर्शकहरूबाट खुलेर प्रशंसा भइरहेको निर्माताहरुले जनाएका छन्।
यस सिरिजले आफ्नै कथा, व्यथा, घरपरिवार र बाल्यकालसँगको सम्झना ताजा गरिदिएको अनुभव दर्शकले गरेका छन् । प्राप्त प्रतिक्रियाबारे निर्देशक पुडासैनी भन्छन् , ' हामीले यस सिरिजमा सोचेको भन्दा धेरै माया र साथ पाइरहेका छौ । यस्तो असीम प्रेमले हामीलाई दर्शकका लागि यो भन्दा राम्रो काम गर्न हौसला मिलेको छ ।'
सानो संसारलाई राजीव पण्डितले छायाङ्कन गरेका हुन् भने सम्पादन निर्देशक पुडासैनी कै रहेको छ। यसमा कलाकारहरूमा अनु दाहाल, राज पङ्गेनी शर्मा, सीता देवी तिमल्सिना, अन्जाषा रिजाल, सरिता भण्डारी, अर्जुन आचार्य, आयुष श्रेष्ठ आदिको अभिनय रहेको छ । सानो संसार हरेक शुक्रबार बेलुकी ६ बजे टुनामुना प्रोड्क्सन' को युट्युब च्यानलबाट प्रसारण हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस