काठमाडौं । गएको शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वदेशी लडाकु विमान तेजशमा उडान भनेर निस्किएपछि सामाजिक सञ्जालमा एउटा स्ट्याटस राखे : ‘एउटा स्मरणयोग्य उडान, तेजश भारतको गौरव हो । जसले १४० करोड भारतीयहरूको शक्ति र सिटको प्रदर्शन गरेको छ ।’
उनको त्यो उडानले हालै दुबईमा आयोजित वायुयानहरूको अन्तर्राष्ट्रिय प्रदर्शन ‘दुबई एयर शो’मा निकै चर्चा पायो । त्यही भारतले निर्माण गरेको ब्राह्मोस नामक सुपर सोनिक क्रुज मिसाइलले पनि धेरैको ध्यान आकर्षण गरेको छ ।
भारतमै निर्मित लडाकु विमान तेजश र मिसाइलको यस प्रकारको प्रदर्शनीबाट भारतले निकट भविष्यमा नै सुरक्षासँग सम्बन्धित सामग्री र हतियारहरूको निर्यात गर्न सक्ने सम्भावनालाई बढाएको छ । दुबईमा आयोजित यस वर्षको ‘हवाई उद्योगको भविष्य’ रहेको शीर्षकमा सहभागी ९५ मुलुकमध्ये भारतले पनि एक महत्त्वपूर्ण मुलुकका रूपमा उपस्थिति जनाएपछि त्यस प्रकारको सम्भावना बढेको हो ।
कतिपय मिडिया विश्लेषणहरूलाई हेर्न हो भने भारत सुरक्षा सामग्रीको निर्यातको दिशामा योजनाबद्ध ढङ्गले अगाडी बढिसकेको छ । जसले अब अन्तर्राष्ट्रिय बजारको खोजी शुरु गरिसकेको रूपमा मोदीको पछिल्लो उडान र प्रदर्शनीलाई लिन सकिन्छ ।
भारतले अहिले आफ्नो सुरक्षा उपकरणहरूको बिक्री गर्ने र अन्तर्राष्ट्रिय बजारमा उपस्थिति जनाउने योजनालाई तीव्रता दिएको कतिपय भारतीय सुरक्षा निकायमा अधिकारहरूले नै बताउँदै आएका छन् । हाल भारतमा करिब एक सय वटा उद्योगहरूले विभिन्न सुरक्षा उपकरणहरूको निर्माण गरेर ८५ वटा देशहरूमा बिक्री गर्दै आइरहेको छ ।
भारत सरकारकै एक आधिकारिक दस्ताबेजमा उल्लेख भए अनुसार सन् २०१३ यता एक दशकको अवधिमा त्यहाँको सुरक्षा सामग्रीको निर्यातमा २३ गुणाले वृद्धि भइसकेको छ । सन् २०१३र०१४ मा ६.८ अर्ब रुपैयाँको सुरक्षा सामग्री निर्यात गएको भारतले आर्थिक वर्ष २०२२र०२३ मा लगभग १६० अर्ब भारतीय रुपैयाँको यस्ता सामग्री निर्यात गरेको छ । यो भनेको १.९ अर्ब अमेरिकी डलर बराबरको निर्यात हो । विश्वको ठूलो सुरक्षा सामग्री निर्यातकर्ता अमेरिकाले अघिल्लो वर्ष जम्मा ५१.९० अर्ब डलरको सुरक्षा सामग्री निर्यात गरेको थियो ।
यसरी आफ्नै स्वदेशी हतियार उत्पादनलाई बढवा दिने र सुरक्षा सामग्रीमा आफ्नो पर निर्भरतालाई घटाउने योजनालाई निरन्तरता दिइरहेको भारतले सुरक्षासम्बन्धी सामग्रीहरूको आयातमा हुने खर्च आर्थिक वर्ष २०१८/०१९ यता लगभग १० प्रतिशतले घटाइसकेको छ ।
यसरूपमा हेर्दा के देखिन्छ भने विश्वका ठूला अर्थतन्त्र र बलियो सुरक्षा सामग्री उत्पादनकर्ता मुलुकहरूसँगको दौडमा अब भारत पनि सामेल भएको छ । जसले हतियार र सुरक्षा सामग्रीहरूको विश्वव्यापी बजारमा आफ्नो पनि बलियो उपस्थिति जनाउने सपनालाई साकार गर्नेक्रममा अघि बढिसकेकोरूपमा हेर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस