aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

रोजगारीको आश देखाएर वेश्यावृत्ति, स्पा सेन्टर संचालक पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ मंसिर २०८०
रोजगारीको आश देखाएर वेश्यावृत्ति, स्पा सेन्टर संचालक पक्राउ

काठमाडौं । किशोरी र युवतीहरूलाई रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तिमा लगाउने गरेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-९ रातोपुलस्थित नुवाकोट ब्यूटी पार्लर एण्ड स्पा सेन्टरका संचालक संखुवासभा चिचिला गाउँपालिका-१ घर भएका ४३ वर्षीय दिनेश पौडेललाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले स्पा सेन्टरबाट २ नाबालिका र १ युवतीलाई उद्दार गरेको छ । उक्त स्पा सेन्टरमा काम गर्ने युवतीहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाई यौन शोषण गर्ने गरेको भन्ने सूचना प्रहरीले प्राप्त गरेको थियो । सोही सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पौडेललाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पौडेलले युवतीहरूलाई आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी स्पा सेन्टरमा बोलाउने गरेका थिए । त्यसपछि मसाजका साथै शारीरिक सम्पर्क राख्न दबाब दिने गर्थे । अह्राए अनुसारको काम गर्न नमानेमा शारीरिक तथा मानसिक यातना दिनुको साथै अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमार्फत आफन्तलाई पठाइदिने जस्ता डर त्रासमा पार्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

पौडेलले रातो पुल र एयरपोर्ट नजिकै रहेका पौडेलका २ वटा स्पा सेन्टरमा काम गर्ने युवतीहरूलाई आलोपालो एक ठाउँबाट अर्को ठाउँमा पठाउने गरेको खुल्न आएको छ ।

पौडेललाई काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस