
काठमाडौं । परम्परागत पेशा र परम्परागत लाभका क्षेत्रमा समेत खासै काम गर्न नसकेका राजनीतिक दलका नेताहरू बढ्दो जनसंख्या पलायनबाट चिन्तित देखिएका छन् । आज (मंगलबार) आयोजित एक कार्यक्रममा सरकारका विभागीय मन्त्रीले नै जनताले गाउँ र देशै छाड्दा चौतर्फी समस्या निम्तिएको स्वीकारेका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)को सहकार्यमा काठमाडौँमा ‘जनसङ्ख्या र बसाइँसराइ व्यवस्थापन सबलीकरणसम्बन्धी राष्ट्रिय परिसंवाद’ कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रमलाई सम्बोधन गर्न पुगेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा आन्तरिक तथा बाह्य बसाइँसराइका कारण सिर्जित समस्या विकराल बन्दै गएकाले त्यसलाई समाधान गर्न आवश्यक रहेको बताए ।
‘विभिन्न कारणले हिमाल र पहाडको जनसङ्ख्या घट्दै गएर तराई क्षेत्रमा बढेको र विदेशी मुलुकमा बसाइँसराइ गरेर जाने क्रम बढेको छ, गाउँमा जनसङ्ख्या न्यून हुँदै गएर देशलाई आवश्यक जनशक्ति प्राप्त हुन नसक्ने तर विकासका लागि बाह्य जनशक्ति ल्याउनुपर्ने अवस्था छ,’ मन्त्री बस्नेतले भने, ‘विकासका क्रियाकलाप व्यवस्थित गर्ने, सरोकारवाला निकायमा साझा अवधारणा निर्माण गर्ने, र बसाइँसराइमा देखिएका समस्या तथा चुनौतीलाई सामूहिक रुपमा सम्बोधन गर्नुपर्ने बेला आएको छ । संघीय, प्रादेशिक र स्थानीय गरी तीनवटै तहका सरकार यी समस्याबारे सजक हुन आवश्यक छ ।’
पन्ध्रौँ आवधिक योजना र राष्ट्रिय जनसङ्ख्या नीति, २०७२ मा बसाइँसराइको समस्यालाई यथोचित रुपमा सम्बोधन गर्ने प्रयास गरिएको भए पनि समस्याको समाधान गर्न नसकिएको मन्त्री बस्नेतले स्वीकारे । स्रोत साधनको व्यवस्थापन, क्षमता विकास, विकासमा समन्वय र आन्तरिक अर्थतन्त्रमा बढोत्तरी गरेर बसाइँसराइका समस्या सम्बोधन गर्न सकिने उनको भनाई थियो । समस्या समाधान निम्ति योजनावद्ध विकास अवधारणा प्रभावकारी कार्यान्वयन र शासकीय क्षमतामा सुधार आवश्यक रहेको उनले तर्क गरे ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव देवकुमारी गुरागाइँले नेपालमा बाह्य तथा आन्तरिक बसाइँसराइ उच्च रहेका कारण वितरणमा असमानता बढ्दै गएको र यसबाट आर्थिक उत्पादन तथा वितरणमा प्रत्यक्ष प्रभाव पर्न गएको बताइन् । ‘गरिबी, अशिक्षा, भौगोलिक विकटता, अव्यवस्थित बसोबास, बसाइँसराइ र आप्रवासनका कारण जनसङ्ख्या र विकासकाबीच असन्तुलन देखिएको छ । यसले आन्तरिक उत्पादन र समग्र अर्थतन्त्रमा प्रभाव बढ्दै गएको छ’, उनले भनिन् ।
पछिल्लो समय नेपालमा प्रजननदर घट्दै गएको, औसत आयुमा वृद्धिहुँदै गएको, युवा दक्षजनशक्ति विदेशिने क्रम जारी रहेको, ज्येष्ठ नागरिकको जनसङ्ख्या बढ्दोक्रममा रहेको जस्ता प्रवृत्ति अहिले देखिएको पनि उनले बताइन् । विकास गर्दा जनसङ्ख्यालाई केन्द्रमा राखिनुपर्ने उनको तर्क थियो ।
आइओएम मिसनको नेपालका प्रमुख हेलेन फोर्सले दिगो विकाससँग सम्बन्धित लक्ष प्राप्तिका लागि पनि बसाइँसराइ एक महत्वपूर्ण पक्ष रहेको बताए । जनसङ्ख्या घट्ने बढ्ने प्रवृत्तिको विश्लेषणबाट नेपालको नीति निर्माणमा सहयोग पुग्ने उनले उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस