aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

टेलिग्राम, बिगो लाइभ र स्न्यापच्याटमा पनि सरकारी प्रतिबन्ध !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ मंसिर २०८०
टेलिग्राम, बिगो लाइभ र स्न्यापच्याटमा पनि सरकारी प्रतिबन्ध !

काठमाडौं । दल र नेतामाथि चरम आलोचना भएपछि भिडियो साझेदारी विद्युतीय सञ्‍जाल टिकटक प्रतिबन्ध लगाएको नेपाल सरकार बिगो लाइभ र स्न्यापच्याटमा पनि खनिन लागेको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम्‌ प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा सरकारले बिगो लाइभ, लाइकी, टिन्डर, स्न्यापच्याट, टेलिग्राम लगायत सबै एपमाथि प्रतिबन्ध लगाउन खोजेको हो ।

रुपन्देहीकी एक कार्यकर्ताले टिकटक लाइभमा गोप्य अंग देखाएपछि सत्तारुढ माओवादी केन्द्रले टिकटक माथि नै प्रतिबन्ध लगाउने कदम चालेको थियो । पार्टीका हजारौं नेता/कार्यकर्ताले टिकटक चलाए पनि उनीहरूमाथि चर्को आलोचना हुने र प्रतिरक्षा नै गर्न नसक्ने अवस्था भएपछि प्रधानमन्त्री दाहालले प्रमुख दलका नेताहरूसँग छलफल गरी टिकटक बन्द गराएका थिए ।

सामाजिक सञ्‍जालबाटै पार्टी नेता/कार्यकर्ताको बदमासी हजारौं प्रयोगकर्ता नागरिकसम्म पुग्ने र त्यसले संगठनमै क्षति पुर्‍याउने भएपछि यतिखेर भने माओवादी नेतृत्वको सरकारले इन्टरनेट प्लेटफर्ममा उपलब्ध सबै प्रमुख एपमाथि प्रतिबन्ध लगाउन खोजेको हो । टिकटकमा झैं लाइभ बस्न मिल्ने सबै विद्युतीय सञ्‍जालमाथि निगरानी थालिएको प्रधानमन्त्रीको सचिवालयका अधिकारीहरूले बताएका छन्‌ ।

सरकारमा रहेका माओवादी केन्द्रका नेता/कार्यकर्ताहरूले यस्ता एपको प्रयोगले समाजमा नकारात्मक असर परेकाले प्रतिबन्ध लगाउनुपरेको तर्क राख्ने गरेका छन्‌ ।

प्रतिक्रिया दिनुहोस