
एजेन्सी । अमेरिकामा रहेका शिख पृथकतावादी नेता गुरुपतवंत सिंह पन्नुको हत्या गर्न भारतीय खुफिया एजेन्सीले एक लाख अमेरिकी डलर (करिब १ करोड ३२ लाख रुपैयाँ) दिएर हत्यारा खटाएको अमेरिकाले आरोप लगाएको छ । सिंहलाई भारतले आतंकवादी सूचीमा राखेको छ ।
निखिल गुप्ता नाम गरेका व्यक्तिलाई भारतले आफ्नो भूमिमा मानिस मार्न खटाएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले दाबी गरेको हो । तर, शिख नेताको हत्या गर्न भारत सरकारले सुपारी गुप्ताले जसलाई थमाएका थिए, ती आफ्नै गुप्तचर निकायको अन्डरकभर एजेन्ट रहेको पनि अमेरिकी अधिकारीहरूले बताइदिएका छन् ।
गुप्ता हाल चेक रिपब्लिकको जेलमा छन् । पक्राउ पर्नुअघि उनलाई भारतका एक सरकारी अधिकारीले नै हत्याबारे निर्देशित गरिरहेको अमेरिकाले दाबी गरेको हो ।
यस हत्या षडयन्त्र मामिलामा अमेरिकाले भारतका शीर्ष नेतृत्वमाथि नै सवाल उठाएको छ । यसअघि जुन १८ मा क्यानडामा शिख नेता हरदीप सिंह निज्जरको हत्यामा पनि भारत सरकारको हात रहेको आरोप लागेको थियो । क्यानडाले यस्तो आरोप लगाएपछि दुई देशबीच कूटनीतिक सम्बन्ध नै खराब भएको थियो, जुन कायम छ ।
अमेरिकाले आफ्नो भूमिमा मानिस मार्न भाडाको हत्यारा खटाएको आरोप प्रमाणसहित लगाएपछि भारत सरकार अप्ठेरोमा परेको त्यहाँका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । पछिल्लो आरोपमा भारतले क्यानडालाई झैं अमेरिकालाई लल्कार्ने क्षमता नराख्ने र प्रधानमन्त्री नरेन्द्र मोदी वैश्विक मञ्चमा थप बदनाम हुने जोखिम बढेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस