aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

थारु संस्कृतिलाई चित्रकलामार्फत संरक्षण गर्दै मित्थु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ मंसिर २०८०
थारु संस्कृतिलाई चित्रकलामार्फत संरक्षण गर्दै मित्थु

बाँके । मित्थु थारुले आइतबार बिहान गाभर भ्याली होमस्टेको भित्तामा एकसुरमा थारु समुदायले पुज्ने अप्सराको चित्र कोर्दै थिए। उनले सेतो, हरियो, कालो, पहेंलो सबै रङमा लत्पतिएर भित्तामा थारु इतिहास र लोक संस्कृतिमा आधारित देवीदेवताको प्रतिमा रङ्ग्याउँदै थिए।

कैलालीको जानकी गाउँपालिका ३ घर भएका ३५ वर्षीय मित्थुले ललितकला क्याम्पसमा चित्रकलामा स्नातक गरेका छन्। माटाका मूर्ति बनाएर पुज्ने थारु जातिको प्रचलनलाई सानैदेखि देख्दै आएका मित्थुलाई माटाका मूर्ति बनाउनमा रुचि बढेपछि चित्र र मूर्ति बनाउने कलामा आफूलाई निखार्दै लगे।

चित्रकलाको चार वर्षे अध्ययन पूरा गरेर दुई वर्षदेखि व्यावसायिक रूपमा उनले काम गर्दै आएका छन्। मित्थुले विशेष गरेर थारु जातिको संस्कृति र ऐतिहासिक महत्व बोकेका चित्र र भित्ते मूर्ति बनाउने गरेको बताए। पहिलोपटक मूर्ति बनाउँदा एकैचोटि २५ हजार रुपैयाँ पाएको उनले बताए। “अध्ययन पूरा गरेपछि मैले पहिलोपटक थारु जातिको इतिहास र लोक कला संस्कृति झल्किने भित्ते चित्र बनाएको थिएँ। त्यसबाट २५ हजार रुपैयाँ पाएको थिएँ”, मित्थुले भने।

उनका अनुसार चित्र र मूर्ति बनाउँदा मासिक पारिश्रमिक ७० हजारदेखि एक लाख रुपैयाँसम्म हुने गर्दछ। यतिबेला उनले बाँकेको बैजनाग गाउँपालिका १ मा पर्ने गाभर भ्याली होमस्टेका भित्तामा थारु समुदायले पुज्ने देवीदेवताका प्रतिमूर्ति कोर्दै छन्।

उनले दुर्गाशरणको कथामा आधारित थारु समुदायका देवी मयारी अप्सरा, थारुका राजा (दगीशरण), भेंवाँ ९भीम०, ठूलो डेमन डेउडा घोडालगायत माटाका मूर्ति कुँदेर होमस्टेका भित्ता सजाउँदै छन्। मूर्तिको विशेषता हेरेर मूल्य निर्धाण हुने भएकाले एउटा मूर्ति कुँदेबापत २५ देखि ३० हजार रुपैयाँसम्म लिने गरेको मित्थुको भनाइ थियो। व्यावसायिक रूपमा थारु संस्कृति झल्कने चित्र र मूर्ति बनाउन थालेपछि आर्थिक अवस्थामा सुधार आएको उनले बताए।

मित्थुले दाङको दगीशरण ३ चखौरा गाउँमा थारु संस्कृति सङ्ग्राहलयमा चित्र र मूर्ति बनाउँदै छन्। थारु संस्कृति जागरणाकै लागि आफूले यो काम रोजेर व्यावसायिक रूपमा अघि बढेको उनको भनाइ थियो। 

प्रतिक्रिया दिनुहोस