aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

‘एनसेलको शेयर बिक्रीबारे जानकारी छैन, अनुमति लिनुपर्छ’ : अर्थमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ मंसिर २०८०
‘एनसेलको शेयर बिक्रीबारे जानकारी छैन, अनुमति लिनुपर्छ’ : अर्थमन्त्री

चितवन । अर्थमन्त्री डा. प्रकाशशरण महतले मलेसियन लगानी कम्पनी आजियाटाले एनसेलको ८० प्रतिशत शेयर बिक्री गरेकोबारे सरकारलाई जानकारी नभएको बताएका छन्‌ । शेयर किनबेच गर्नुअघि अनुमति लिनुपर्ने र सरकारलाई जानकारी दिनुपर्ने पनि उनले उल्लेख गरेका छन्‌ ।

आजियाटाले गत साता एनसेलमा रहेको आफ्नो शेयर ६ अर्ब ६५ करोड रुपैयाँमा बेचेको जनाएको थियो । एनसेलमा २० प्रतिशत शेयर हिस्सा राखेका गैरआवासीय नेपाली सतीशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेले आजियाटाको शेयर किनेको जनाएको हो ।

तर, नियामक दूरसञ्‍चार प्राधिकरणले आजियाटालाई पत्र लेख्दै शेयर किनबेच या नामसारी गर्नुपूर्व स्वीकृत लिनुपर्ने बताइसकेको छ । आजियाटाको शेयर किनबेच हुँदा अर्बौं रुपैयाँ पूँजीगत लाभकर छल्न खोजिएको भन्दै चर्को विरोध भइरहेको छ । यसअघि स्वीडिस कम्पनी टेलियासोनेराले आजियाटालाई ८० प्रतिशत शेयर बेच्दा पनि झण्डै करिब ५५ अर्ब रुपैयाँ लाभकर छली गरेको प्रमाणित भएको थियो ।

चितवन पुगेका अर्थमन्त्री महतले यसै सन्दर्भमा सोधिएको प्रश्नमा एनसेलको शेयर खरिदबिक्रीबारे सरकारलाई जानकारी हुनुपर्ने बताएका हुन्‌ । उनले थपे, ‘शेयर किनबेच गर्दा अनुमति लिनुपर्छ, तर अहिलेसम्म सरकारलाई आधिकारिक जानकारी छैन । यो किनबेचले पार्ने प्रभावबारे टेलिकमका पदाधिकारसँग बुझ्ने काम भइरहेको छ ।’

एनसेलबाट अजियाटा बाहिरिने, शेयर आचार्यद्वयले किन्ने

एनसेलबाट आजियाटा बाहिरिँदा सरकार र बैंक दुबै डुब्ने खतरा

प्रतिक्रिया दिनुहोस