aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

कानुन बनाउने नै धमाधम पक्राउ, फेरी सांसद गुरुङ विरुद्ध पक्राउ पुर्जी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० असोज २०७६
कानुन बनाउने नै धमाधम पक्राउ, फेरी सांसद गुरुङ विरुद्ध पक्राउ पुर्जी

काठमाडौ । प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरासहित पाँचजना सांसद पक्राउ खपरेका छन् । विभिन्न आरोपमा महरासहित पाँच सांसदलाई प्रहरीले नियन्त्रणमा लिएसँगै उनीहरू निलम्बनमा परेका छन्।

२ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा एक सांसदको निधन र पाँचजना निलम्बनमा परेपछि सदस्य संख्या २ सय ६९ मा सीमित भएको छ। सांसदसमेत रहेका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी गत फागुनमा निधन भएको थियो । यही मंसिर १४ गते त्यहाँ उपनिर्वाचन हुँदैछ।

निलम्बनमा पर्नेहरूमा नेपाल कम्युनिस्ट पार्टीबाट निर्वाचित महरासँगै राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित सांसद रेसमलाल चौधरी, तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित सांसद हरिनारायण रौनियार, कांग्रेस सांसद मोहम्मद आफताब आलम, राजपाकै सांसद प्रमोद साह छन् । 

तत्कालीन नेकपा एमालेबाट निर्वाचित सांसद पार्वत गुरुङलाई पनि फौजदारी अभियोगमा पक्राउ पुर्जी जारी गरिएको छ। उनी पक्राउ परेमा निलम्बित हुने सांसदको संख्या ६ पुग्नेछ। पक्राउ पुर्जी जारी भइसकेको अवस्थामा गुरुङले पनि संसदीय गतिविधिमा भाग लिन पाउनेछैनन् । अब संसद्को कारबाहीमा भाग लिन २ सय ६८ सांसदमात्र योग्य हुनेछन् । यीमध्ये २२ जना मन्त्री र ३ जना राज्यमन्त्री छन्।

स्थानीय तहको निर्वाचनका बेला गुरुङले नेकपा माओवादी केन्द्रका कार्यकर्तालाई ‘मार्ने प्रयास गरेको’ दाबीसहित दायर मुद्दामा अदालतले पक्राउ पुर्जी जारी गरेको हो।

त्यतिबेला गुरुङ एमालेमा थिए । अहिले तत्कालीन एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)
बनेको छ।

ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा आरोपित बनाइएका गुरुङलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले पुर्जी जारी गरे पनि उनी पक्राउ परेका छैनन् । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस