नेपालगन्ज । जनतालाई शान्ति, सुरक्षा प्रदान गर्ने उद्देश्यले प्रहरी संगठनमा भर्ना हुन आएकी एक महिला प्रहरी प्रशिक्षार्थी तालिम केन्द्रभित्रै बलात्कृत भएकी छन्।
कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा प्रहरी जवानको तालिम लिइरहेकी महिला प्रशिक्षार्थी सोही तालिम केन्द्रमाकार्यरत प्रहरी नायब निरीक्षक (सई) बमबहादुर रानाबाट बलात्कृत भएकी हुन्।
सई बमबहादुर रानाले तीन दिनअघि ब्यारेकभित्रै बलात्कार गरेको पीडितले बताएकी छन्। प्रहरी स्रोतका अनुसार विगत ३ महिनादेखि ती पीडित महिलाले जवान पदको तालिम लिदै आएकी थिइन् । सई रानाले आफूलाई विभिन्न दबाब दिएर जबरजस्ती बलात्कार गरेको पीडित महिलाको भनाइ छ।
प्रहरी बन्ने सपना बोकेर तालिम गरिरहेकी युवती प्रहरीबाटै बलात्कृत भएपछि पीडितका आफन्तले आक्रोश व्यक्त गरेका छन्। प्रहरी बनेर देशको सेवा गर्लिन् भनेर पठाएका थियौं तर तालिम केन्द्रभित्रै प्रहरीबाट हाम्री चेली बलात्कारको सिकार भइन्,’ एक आफन्तले भने, ‘भित्रभिदै दोषीलाई बचाउन हरेक प्रयास गरे तर पीडितले हिम्मत गर्दा यो कुरा बाहिर आएको हो।’
पीडितका आफन्तले दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग गरेका छन्। बलात्कारको आरोपमा जिल्ला प्रहरी कार्यालय बाँकेले सई रानालाई पक्राउ गरिसकेको बताएको छ। कर्णाली प्रदेशका प्रहरीप्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डिआईजी) पूर्णचन्द्र जोशीले बलात्कारको घटना सार्वजनिक भएपछि पीडितको बयानका आधारमा सई रानामाथि अनुसन्धान सुरु गर्न निर्देशन दिइसकेको बताए। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस