aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एनसेलको शेयर बिक्री प्रकरण संसदीय समितिमा, लेखा समितिले छानबिन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ मंसिर २०८०
एनसेलको शेयर बिक्री प्रकरण संसदीय समितिमा, लेखा समितिले छानबिन गर्ने

काठमाडौं । मलेसियाको लगानी कम्पनी आजियाटाले एनसेलको ८० प्रतिशत शेयर बेचबिखन गरेको प्रकरण संसदीय समितिमा प्रवेश गरेको छ । एनसेल शेयर खरिदबिक्रीबारे छलफल गर्न बुधबार (भोलि) दिउँसो २ बजे प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति बैठक बस्न लागेको हो ।

समितिको सचिवालयले भोलिको बैठकमा शेयर बिक्रीबारे प्रारम्भिक छलफल हुने जानकारी दिएको छ । आजियाटाले गत साता एनसेलमा रहेको आफ्नो शेयर ६ अर्ब ६५ करोड रुपैयाँमा बेचेको जनाएको थियो । एनसेलमा २० प्रतिशत शेयर हिस्सा राखेका गैरआवासीय नेपाली सतीशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेले आजियाटाको शेयर किनेको जनाएको हो ।

यसरी शेयर बिक्री हुँदा नेपालको कानूनी प्रकृया पालना र कर छली भए/नभएकोबारे संसदीय समितिले छलफल गर्ने बताइएको छ । प्रारम्भिक छलफल पछि एक उपसमिति बनाएर एनसेल शेयर किनबेच प्रकरण छानबिन गर्ने पनि लेखा समितिको तयारी छ ।

आजियाटाले एनसेलमा रहेको स्वामित्व बेचेको खबर बाहिरिए लगत्तै लेखा समितिले नियामक निकाय दूरसञ्‍चार प्राधिकरण, कम्पनी रजिष्ट्रार कार्यालय र आन्तरिक राजस्व विभागसँग सोधखोज गरेको थियो । समितिले ती निकायमा एनसेलको शेयर बिक्रीबारे ९ वटा प्रश्न पठाएको छ ।

मलेसियाली कम्पनी अजियाटा युकेले वि.सं. २०७२ चैत २९ गते रेनोल्ड्स होल्डिङमा रहेको युरोपेली कम्पनी टेलियाको ८० प्रतिशत शेयर १ खर्ब ४३ अर्ब रुपैयाँमा खरिद गरी एनसेलमा प्रवेश गरेको थियो ।

त्यतिखेर नेपालको दूरसञ्‍चार प्राधिकरण र कर नियामकलाई जानकारी नै नदिई शेयर किनबेच गरी ५७ अर्ब ९० करोड पूँजीगत लाभकर छली गरेको थाहा भएको थियो । नेपालको अदालतले लाभकर बापतको रकम तिर्नुपर्ने फैसला गरेपछि आजियाटा अन्तरराष्ट्रिय मध्यस्थकर्ताकहाँ गएको थियो । मध्यस्थकर्ताले समेत लाभकर तिर्नुपर्ने फैसला गरेपछि आजियाटाले कर तिरेको थियो ।

पछिल्लो शेयर बिक्रीमा पनि पहिलेकै परिमाणमा लाभकर छली भएको हुनसक्ने आशंका छ ।

प्रतिक्रिया दिनुहोस