aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

६१ करोड भ्रष्टाचार गरेर फरार उपसचिवसहित पाँच पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ मंसिर २०८०
६१ करोड भ्रष्टाचार गरेर फरार उपसचिवसहित पाँच पक्राउ

काठमाडौं । यातायात कार्यालय ईटहरीमा ६१ करोड २१ लाख २८ हजार रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेका कारण विशेष अदालतबाट दोषी ठहर भएपछि फरार रहेका उपसचिव मणिराज दाहालसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भ्रष्टाचार (राजश्व रकम हिनामिना) कसूरमा दोषी ठहर भई फरार पाँच जना प्रतिवादी पक्राउ परेका नेपाल प्रहरीले जानकारी दिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई सोमबार पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-३ बस्ने ४९ वर्षीय मणिराज दाहाल, ६३ वर्षीय कुमार बहादुर कटुवाल, ६३ वर्षीय टीकाराम अधिकारी, ३७ वर्षीय देवराज नेपाल र सोही महानगरपालिका-४ बस्ने ६४ वर्षीय नयराज नेपाल रहेका छन् । 

विशेष अदालत बबरमहल काठमाडौंको फैसलाबाट उनीहरूमध्ये मणिराजलाई ७ वर्ष ११ महिना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५९४ रुपैयाँ जरिवाना, नयराजलाई ८ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार र ३४२ रुपैयाँ जरिवाना, कुमार बहादुरलाई ६ वर्ष कैद र १ करोड १ लाख ६५ हजार ८१२ रुपैयाँ जरिवाना तोकेको थियो ।

यसैगरी टीकारामलाई ९ वर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८८४ रूपैयाँ जरिवाना र देवराजलाई ८ वर्ष ६ महिना कैद र २२ करोड ४५ लाख २७ हजार ६६७ रूपैयाँ जरिवाना फैसला भएको  थियो । उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेश गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङले गत साउनदेखि हालसम्म जम्मा २ सय १५ जना फरार प्रतिवादीहरू पक्राउ गरि उनीहरूबाट कूल ८५ वर्ष १० महिना १५ दिन कैद र  ६८ करोड ६८ लाख २६ हजार ७३२ रुपैयाँ जरिवाना असुल गरेको छ ।

प्रतिक्रिया दिनुहोस