
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एउटै मञ्चमा रहेका अर्थमन्त्री डा. प्रकाशशरण महतको काम गराइप्रति घुमाउरो शैलीमा अब्जेक्सन (आपत्ति) जनाएका छन् ।
ललितपुरमा बुधबार आयोजित ‘नेपालको अर्थतन्त्र र शासकीय सुधार’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री दाहालले आफू विभागीय मन्त्रीको काम गराइप्रति सन्तुष्ट नरहेको जनाउ दिएका छन् । अहिलेको काम गराइले नहुने भन्दै दाहालले गुणात्मक सुधार आवश्यक रहेको अभिव्यक्ति दिँदै अर्थमन्त्रीमाथि दबाब बढाएका हुन् ।
केही महिना अघिदेखि नै गृह र अर्थमन्त्री परिवर्तन गर्नुपर्ने माग कार्यकर्तामार्फत उठाइरहेका दाहालले आज भने एउटै कार्यक्रमको मञ्चमा रहेका अर्थमन्त्रीकै सामू ‘कहीँ न कहीँ सोच्नुपर्ने देखिएको’ बताए । दाहालले भने, ‘अहिलेको काम गराइले अर्थतन्त्रका समस्या समाधान हुने देखिएन, सरकारले असफलता सामना गर्नु परिरहेको छ । गुणात्मक सुधारका लागि मौलिक ढंगले सोच्नैपर्ने भयो ।’
तथ्यांक र परिणामले नै केही न केही सोच्नुपर्ने अवस्था निम्तिएको दाबी गरेका प्रधानमन्त्री दाहालले १६औं योजना र आगामी बजेट तयारीको प्रसंग समेत अर्थमन्त्रीका सामुन्ने उठाए ।
बजेट अर्थ मन्त्रालयले तयार गर्छ भने योजना तयार गर्ने राष्ट्रिय योजना आयोगमा प्रधानमन्त्रीको पार्टी माओवादी निकट डा. मीनबहादुर श्रेष्ठ उपाध्यक्ष छन् । यसै सन्दर्भमा दाहालले योजना र बजेटको सन्दर्भ अर्थमन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्षको पार्टीगत रुझानका आधारमा कोट्याएको बुझिन्थ्यो ।
‘अहिले नै कमजोरी समीक्षा गरी तत्कालै र दीर्घकालीन रूपमा गर्नुपर्ने काम पहिल्याउन अब ढिला गर्नु हुँदैन,’ दाहालले थपे, ‘यसअघि दिइएका निर्देशन पनि कार्यान्वयन भएनन् । सेवा प्रवाहमा सुधार नगरे कर्मचारीतन्त्र प्रतिकै भरोसा थप कमजोर हुन्छ, सचिवज्यूहरू सचेत हुनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस