काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले राखेको ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल नहुने बताएका छन् । प्रतिनिधि सभाको अर्थ समितिमा बोल्दै गभर्नर अधिकारीले सरकारको वित्त नीतिको लक्ष्य पूरा नहुने बताइदिएका हुन् ।
अधिकारीले भने, ‘युवा पलायनले यसमा भूमिका खेलेको छ, कोरोना महामारीपछि रोजगारी र अध्ययन निम्ति ठूलो संख्यामा युवाहरू विदेशिए, युवा नभएपछि आन्तरिक माग नै घट्यो, यसले अर्थतन्त्र नै प्रभावित पारेको छ ।’
सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमा ६ प्रतिशत आर्थिक वृद्धिदर लक्ष्य राखेको छ । तर आर्थिक वर्षको झण्डै आधा समय सकिँदा केन्द्रीय बैंकका गभर्नरले सो लक्ष्य पूरा नहुने दाबी गरे । अधिकारीले थपे, ‘पर्यटन र विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार देखिएको छ, ब्याजदर घट्ने र कर्जा प्रवाह बढ्ने स्थिति बनेको छ, यो स्थिति कायमै रहे ४ देखि बढीमा ५ प्रतिशतसम्म आर्थिक वृद्धिदर हुनसक्छ ।’
यसअघि अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ०.८ मा संकुचित हुने प्रक्षेपण गरेको थियो । एसियाली विकास बैंक (एडीबी) ले पनि यो अँग्रेजी वर्षमा नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस