काठमाडौँ। बाला चतुर्दशी पर्वको बेला पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नशालु पदार्थ निषेध गरिएको छ। सो पर्वलाई लक्षित गर्दै काठमाडौँ जिल्ला प्रशासनले पशुपतिनाथको चार किल्ला तोकेर मङ्सिर २१ गतेदेखि मङ्सिर २७ गतेसम्म मासु, मदिरा र नशालु पदार्थ निषेध गरेको हो।
प्रशासनले जारी गरेको सूचना अनुसार गौशाला मित्र पार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर र मित्र पार्क - उमा कुण्ड - गौरी घाट हुँदै गुह्येश्वरीदेखि दक्षिण भित्रका सबै भागमा ती पदार्थ निषेध गरिएको छ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा उल्लेख भए अनुसार बाला चतुर्दशी पर्वमा सुरक्षा लगायत धार्मिक, सांस्कृतिक, मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले ती पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन समेत गर्न नपाउने गरी कडाइ गरिएको हो ।
सो निषेधाज्ञाको कोही कसैले बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी सूचनामार्फत दिइएको छ।
प्रतिक्रिया दिनुहोस