aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

चौतर्फी दबाबपछि बल्ल ताते प्रचण्ड, डाके एनसेल प्रकरणबारे धारणा बनाउन मन्त्रिपरिषद्को बैठक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ मंसिर २०८०
चौतर्फी दबाबपछि बल्ल ताते प्रचण्ड, डाके एनसेल प्रकरणबारे धारणा बनाउन मन्त्रिपरिषद्को बैठक
फायल फोटो

काठमाडौँ । एनसेल खरिद बिक्रीको विषय पेचिलो बन्दै गएपछि  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सो बैठक आज बिहान ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार बस्नेछ । 

समसामयिक विषयमा छलफल गर्न भन्दै बोलाइएको बैठक मुख्यतया  एनसेल खरिद बिक्री प्रक्रियामा देखिएको विवादका विषयमा केन्द्रित हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सम्बद्ध स्रोतले जनाएको छ । 

संसदीय समितिहरूले एनसेलको ८० प्रतिशत सेयर कारोबारका क्रममा भएको घोटालाप्रति गहिरो चासो देखाएपछि प्रधानमन्त्रीलाई सरकारको  धारणा सार्वजनिक गर्नै पर्ने भएको छ । बुधबार प्रतिनिधि सभाका सार्वजनिक लेखा समिति र अर्थ समितिको बैठकमा एनसेलको सेयर कारोबारबारे चासो राख्दै सरकारलाई निर्देशन समेत दिई सकेका छन् ।

त्यसो त केही पत्रकारहरूलाई भतेर यो विषयलाई सामसुम पार्ने प्रयत्न पनि प्रमले गरेका थिए । सरकारले अध्ययन गर्ने भन्दै टालटुल पार्ने उनको सो प्रयास असफल भएपछि प्रधानमन्त्रीलाई सकस परेको देखिएको छ ।

संसदीय समितिहरूले सार्वजनिक सञ्चार माध्यममा एनसेलको सेयर कारोबारमा ठूलो चलखेल भएको र राज्यलाई अर्बौँ रुपियाँ नोक्सानी भएका समाचार सार्वजनिक भएपछि सो सम्बन्धी सरकारको धारणा माग गरेका छन् । एनसेलले नेपालमा लगानीको वातावरण नभएको जस्ता गम्भीर आरोप लगाउँदा समेत सरकार प्रतिक्रिया विहीन बनेकोमा आम जनता र सांसद आक्रोशित देखिएका छन् ।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले एनसेलको सेयर कारोबार प्रक्रियालाई यथास्थितिमा राख्न निर्देशन दिँदै यसबारेमा सरकारको थप  धारणा बुझ्न प्रधानमन्त्रीलाई बोलाउने निर्णयसमेत गरेको छ । सो समितिले यस प्रकरणको विस्तृत अनुसन्धान नहुँदासम्म सेयर खरिद बिक्रीसम्बन्धी कारोबारलाई यथास्थितिमा राख्न समेत निर्देशन दिएको छ ।

समयावधि नै तोकेर लेखा समितिले एनसेलको खरिद बिक्रीबारे ३० दिनभित्र छानबिन पूरा गर्न सरकारलाई निर्देशनसमेत दिएको छ । एनसेलको लगानीकर्ता आजियाटाले नेपालमा लगानीको वातावरण नभएको आरोपमाथि पनि सरकारले आधिकारिक धारणा सार्वजनिक गर्न पनि लेखा समितिले सरकारलाई निर्देशन दिएको छ ।

संसद्को अर्को महत्त्वपूर्ण समिति अर्थ समितिले पनि यस प्रकरणबारे बुझ्न एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई छलफलका लागि बोलाउने निर्णय गरेको छ । सरोकारवाला निकाय आन्तरिक राजस्व विभाग, कम्पनी रजिस्टर्ड कार्यालय आदिले एनसेलको सेयर कारोबारबारे आफूहरूलाई जानकारी नभएको यसअघी नै सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस