
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनका लागि आवश्यक संघीय कानुन निर्माणमा सरकार गम्भीरतापूर्वक लागिरहेको बताएका छन् । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको टोलीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै उनले संघीयतासम्बन्धी विधेयक सरकारले अगाडि बढाइसकेको बताएका हुन् ।
‘सरकारले विधेयक अगाडि बढाएको छ, तर त्यसको अन्तिम फैसला संसद्ले गर्नुपर्छ । यसका लागि समेत तपाईँ–हाम्रो संयुक्त पहल जरूरी छ’, प्रधानमन्त्री दाहालले भने । उनले सङ्घर्षको कार्यक्रम थाँती राखेर अधिकार प्राप्तिका लागि थप पहलमा केन्द्रित हुन आग्रहसमेत गरे ।
उनले भने, ‘संघीयताका निम्ति सबैभन्दा बढी लडेको माओवादी पार्टी नै हो । संघीयताका पक्षमा लगातार सङ्घर्ष गर्ने नेता म नै हुँ । संघीय कानुन समयमै निर्माण गर्न निरन्तर पहल गरिरहेको छु ।’ प्रधानमन्त्री दाहालले आ–आफ्नो पार्टीमा पनि संघीयता कार्यान्वयनका लागि पहल बढाउन आग्रह गरे ।
छलफलमा मधेस सरकारका प्रतिनिधिले संविधानमा व्यवस्थाबमोजिमका संघीय कानुन निर्माणका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । उनीहरूले एक महिनाभित्र निजामती सेवा ऐन र प्रदेश प्रहरी समायोजन गरिसक्न संघीय सरकारलाई आग्रह गरिएकामा सो अवधि पूरा भएकाले संघर्षमा जानुपर्ने बाध्यात्मक परिस्थिति निर्माण भएको बताए । रासस
प्रतिक्रिया दिनुहोस