aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

अनुसन्धान विभागकै निरीक्षकको प्रमाणपत्र नक्कली, अख्तियारले मुद्दा हाल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ मंसिर २०८०
अनुसन्धान विभागकै निरीक्षकको प्रमाणपत्र नक्कली, अख्तियारले मुद्दा हाल्यो

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागकै अधिकृतस्तरका एक कर्मचारीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध झुटा प्रमाणपत्र पेश गरी जागिर खाई भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

राज्यका सुरक्षा निकायहरूमा कार्यरत कर्मचारीहरूले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेकाले ती निकायहरूमा कार्यरत कर्मचारीहरूको शैक्षिक प्रमाणपत्र छानबिन र कारबाही गर्न आयोगले हाल अनुसन्धान गरिरहेको छ । सोही क्रममा अनुसन्धान विभागका अधिकृत बस्नेतविरुद्ध आयोगमा उजुरी परेको थियो ।

उजुरीबारे अनुसन्धान हुँदा विभागका तत्कालीन अनुसन्धान अधिकृत बस्नेतले माध्यमिक शिक्षा परिषद्‍ क्षेत्रीय कार्यालय, प्रयागराज, भारतबाट जारी भएको हाईस्कुल तहको नक्कली (झुट्टा) प्रमाणपत्र पेश गरी विभागमा सहायक निरीक्षक पदमा नियुक्ति लिएको खुलेको हो । निजले बढुवासमेत भई अनुसन्धान अधिकृत पदको ओहदा, लाभ र सुविधा प्राप्त गरेको देखिएको आयोगले जानकारी दिएको छ ।

बस्नेतको उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६(१) बमोजिमको कसुर भएकोले सोही ऐनको दफा १६(१) बमोजिम कैद र जरिवाना मागदावी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस